२३ बैशाख २०८१, आईतवार

भव्य समारोहबीच डिपिएल सुरु



धनगढी । नेपाली क्रिकेटको सर्वाधिक चर्चित र आकर्षित प्रतियोगिताका रूपमा रहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिग (डिपिएल) आइतबारदेखि धनगढीमा सुरुवात भएको छ । आइतबार साँझ एक भव्य समारोहबीच डिपिएलको उद्घाटन भएको छ ।
प्रतियोगिताको सांसद पुस्करनाथ ओझाले एक कार्यक्रमबिच आतिसबाजी गरेर उद्घाटन गरेका थिए ।
उद्घाटन समारोह सुदूरपश्चिम एकेडमी (एसपीए) का सञ्चालक योगेन्द्र शाहीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा र जंगबहादुर थापालाई सम्मान गरियो ।
यसअघि आइतबार दिउँसो भएको मैत्रीपूर्ण खेलमा नेपाल–११ ले धनगढी–११ लाई ३१ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको पारस खड्का कप्तान रहेको नेपाल–११ ले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै एक सय ६१ रन बनाएको थियो ।
कप्तान खड्काले ६८ रनको आकर्षक पारी खेलेपछि नेपाल–११ ले राम्रो स्कोर बनाएको थियो । उनले ४४ बलमा चार छक्का र सात चौका प्रहार गरेका थिए । नेपाल–११ का लागि वसन्त रेग्मीले ४३ र शरद भेषवाकरले १९ रन बनाएका थिए ।
बलिङतर्फ धनगढी–११ का विक्रम ठगुन्ना सफल रहे । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चेर चार विकेट लिए ।
जवाफमा धनगढी–११ ले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन मात्रै बनाउन सक्यो । धनगढीका सुनिल धमलाले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्र ऐरीले २६ र रोशन अधिकारीले १७ रन जोडेका थिए ।
बलिङतर्फ धनगढी–११ का शक्ति गौचन सफल रहे । उनले चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिएका थिए । धनगढी–११ का सोमपाल कामीले दुई र सन्दीप लामिछाने र अविनाश कर्णले एक–एक विकेट लिए ।
मैत्रिपूर्ण खेलबाट प्राप्त आम्दानी फाप्ला क्रिकेट मैदान निर्माणमा खर्च गरिने जनाइएको छ ।
देशभरिका छ वटा टिमले भाग लिएको सो प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेतालाई सात लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचलाई १० हजार तथा म्यान अफ द सिरिजलाई टिभीएस आरटीआर २०० अपाचे मोटरसाइकल पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको पुरस्कार राशिमा २७ लाख रुपैयाँ खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले बताए ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार