११ श्रावण २०८१, शुक्रबार

विद्युतीय सुरक्षा दिवस मनाइयो



धनगढी । ‘विद्युतीय सुरक्षा चुहावट नियन्त्रण र किफायती उपयोग, देशको समृद्धिमा सहयोग’ भन्ने नाराका साथ कैलालीसहित देशभरि शुक्रवार विद्युतीय सुरक्षा दिवस मनाइएको छ । नेपालमा यो दिवस पहिलो पटक मनाइएको हो ।
विद्युत् सुरक्षा दिवसका अवसरमा शुक्रवार नेपाल विद्युत् प्राधिकरण, अत्तरिया क्षेत्रीय कार्यालय र धनगढी वितरण केन्द्रको आयोजनामा विद्युत् प्राधिकरण धनगढी वितरण शाखादेखि प्रभातफेरी निकालिएको थियो ।
प्रभातफेरीमा विद्युत् प्राधिकरणका कर्मचारी तथा अन्य सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरी पश्चात् आयोजित अन्तक्र्रिया कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विद्युत् चुहावट नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गरे । प्रजिअ रिजालले विद्युतबाट हुने दुर्घटना कम गर्न विद्युत् प्राधिकरणले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
कार्यक्रम प्राधिकरणका क्षेत्रीय प्रमुख राजेन्द्र मिश्रको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका इन्जिनियर मोहनदेव जोशीले लापरबाही र भुलवश विद्युतीय दुर्घटना हुने गरेको र प्राविधिक र अप्राविधिक दुई तरिकाबाट विद्युत् चुहावट भइरहेको बताए ।
कार्यक्रममा सहभागीहरूले विद्युत् चुहावट नियन्त्रण गर्न प्राधिकरणले कारबाहीको कामलाई तीव्रता दिनुपर्ने र दुर्घटना न्यूनिकरण गराउन सचेतना अभियान सञ्चालन गर्नुपर्ने दोहोर्‍याए ।
कार्यक्रममा विद्युत् प्राधिकरण शाखा अधिकृत चन्द्रकान्त अधिकारीले कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार