६ कार्तिक २०८१, मंगलवार

सगरमाथा धनगढी प्रिमियर लीग क्रिकेट : तयारी अन्तिम चरणमा



धनगढी । धनगढीमा आगामी आइतबारदेखि सञ्चालन हुन लागेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग (डिपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ ।
धनगढी क्रिकेट एकेडमी (डिसिए) र सुदूरपश्चिम एकेडमी (एसपीए) को आयोजनामा हुन लागेको सो प्रतियोगिताबारे जानकारी दिन बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पिच र टेन्ट सजावटबाहेक सबै कार्य पूरा भइसकेको बताइयो ।
‘प्रतियोगितामा भाग लिने केही टिम धनगढी पुगिसकेका छन्’ पत्रकार सम्मेलनमा डिसिएका अध्यक्ष शाहीले भने– ‘प्रतियोगिता सफल बनाउन गठित विभिन्न उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन् ।’
विभिन्न सहरका क्रिकेट टिमहरू सहभागी भएको सो प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुने छ । अध्यक्ष शाहीले यो प्रतियोगिता नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यावसायिकतातर्फको गतिलो पाइला हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन खेल नेपाल–११ र धनगढी–११ बिच हुने हुनेछ । सो च्यारिटी खेलबाट भएको आम्दानी रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिने उनले बताए ।
सो अवसरमा एसपीएका प्रिन्सिपल पुष्पराज जोशीले यो प्रतियोगिता नेपालको सबैभन्दा ठुलो धनराशि पुरस्कार भएको बताए ।
नेपालमा पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लीग’ को नयाँ स्वरूप ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लीग’ भएको उनले चर्चा गरे ।
प्रतियोगितामा भाग लिन देशभरिका विभिन्न ६ सहरबाट टिम छनोट गरिएका छन् । ती टिमको कप्तानको टुंगो लक्की ड्रबाट गरिएको थियो ।
प्रतियोगितामा सहभागी सीवाइसी अत्तरियाको कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तान शरद भेषवाकर, काठमाडौँ गोल्डेन्सको कप्तान वसन्त रेग्मी, रूपन्देही च्यालेन्जर्सको कप्तान शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराह धनगढीको कप्तान पारस खड्का रहेका छन् ।
प्रतियोगिताको विजेतालाई १५ लाख र उपविजेतालाई सात लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचलाई १० हजार तथा म्यान अफ द सिरिजलाई टिभीएस आरटीआर २०० अपाचे मोटरसाइकल पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको पुरस्कार राशिमा २७ लाख रुपैयाँ खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले बताए ।
प्रतियोगिता टि–२० को आधारमा हुनेछ । प्रतियोगिताबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवङ्गत पूर्व प्रशिक्षक अर्जुन खड्काका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइने जनाइएको छ ।
त्यस्तै, १५ प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान (ड्रिम फाप्ला) का लागि छुट्याइनेछ भने १५ प्रतिशत रकम सहभागी टिमहरूलाई दिइने अध्यक्ष शाहीले जानकारी दिए ।
दर्शकहरूलाई पहिलो पटक सुदूरपश्चिममा कृत्रिम प्याराफिट निर्माण गरिनुका साथै गोलाप्रथाबाट एक जना दर्शकलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार