२३ बैशाख २०८१, आईतवार

काव्यकार जोशीको अभिनन्दन



धनगढी । काव्यकार मनिराज जोशीको बुधवार धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । मनिराज जोशी नागरिक अभिनन्दन मूल समारोह समितिको आयोजना तथा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीको सहआयोजनामा धनगढीमा अभिनन्दन गरिएको छ ।
काव्यकार जोशीको उनको घरदेखि सहिद गेट हुँदै कैलाली उद्योग वाणिज्य सङ्घको प्राड्डणसम्म शोभायात्रा निकालिएको थियो ।
काव्यकार जोशीका पहलमानसिंह स्वाँर, अमर शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, एनडी प्रकाश चटौत, शैलेश्वरी र खप्तड सहित २९ कृति प्रकाशित भइसकेका छन् ।
सो अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जीवेन्द्र गिरी र साहित्यकार मनोहर लामिछाने रहेका छन् ।
त्यस्तै, कार्यक्रममा श्रेष्ठ प्रिया पत्थरको समीक्षा सङ्ग्रह ‘तेस्रो नेत्र’, सूर्यप्रसाद जोशीको कविता ‘अधुुरो मान्छे’ र गणेशदत्त उपाध्यायको ‘सहारा’ काव्यको विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले काव्यकार जोशीले साहित्यको माध्यमबाट सुुदूरपश्चिमको पहिचानका लागि महत्त्वपूर्ण योगदान पुुर्‍याएको चर्चा गरे ।
कार्यक्रममा साहित्यकार मदनराज पाण्डे, मदन पुुरस्कार विजेता कथाकार रामलाल जोशी, महाकाली साहित्य समाजका अध्यक्ष दिलबहादुर चन्द, देवकोटा साहित्य परिवार टीकापुरका धनञ्जय तिमिल्सिना, थारू कल्याणकारी सभाका अध्यक्ष प्रभात चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मूल आयोजक समिति सहसंयोजक हेमन्ती जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम मूल आयोजक समिति संयोजक श्रेष्ठ प्रिया पत्थरको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन हरिलाल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार