१० श्रावण २०८१, बिहीबार

सघन शहरी विकास कार्यक्रम



धनगढी । धनगढी लगायत कैलालीका मुख्य सडक र शाखा सडक विस्तार तथा सुदृढिकरणका आयोजना अन्तर्गत सघन शहरी विकास कार्यक्रम सञ्चालनको अन्तिम तयारी भइरहेको शहरी विकासको कार्यालय धनगढीले जानकारी दिएको छ ।
सघन शहरी विकास आयोजना अन्तर्गत निर्माण हुने जिल्लाको ४७ किलोमिटर सडकका लागि आह्वान गरिएको बोलपत्रका आधारमा फारम उपलब्ध भएका ४० ओटा निर्माण कम्पनीमाथि प्राविधिक मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको हुँदा आर्थिक वर्ष २०७४ वैशाखभित्रै निर्माण कार्य अगाडि बढ्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले जानकारी दिए ।
सघन शहरी विकास आयोजना अन्तर्गत धनगढी उप–महानगरपालिका लगायत कैलालीका सबै नगरपालिकाहरूमा तीन वर्षको अवधिमा डेढ अरब लगानी हुने समेत कार्यालय प्रमुख बोहराले जानकारी दिए । सघन शहरी विकास परियोजना आगामी तीन वर्ष सञ्चालन हुने र प्रत्येक वर्ष एक नगरपालिकाका लागि ५० करोड रुपैयाँ विनियोजन हुने छ ।
दुई लेन सडक निर्माणका लागि नगरका १९ मुख्य तथा शाखा सडकहरूको छनौट भइसकेको र त्यसका लागि बोलपत्र आह्वान भई हाल निर्माण व्यवसायीको प्राविधिक मूल्याङ्कन कार्य भइरहेको बताउँदै डिभिजन प्रमुख बोहराले धनगढी उप–महानगरपालिकामा १६ किलोमिटर रिङरोड निर्माण हुने बताए ।
धनगढीस्थित त्रिनगर भन्सार कार्यालय हुँदै चटकपुर, फाप्ला क्रिकेट मैदानबाट राजपुर (साविकको अत्तरिया नपा ९) जोड्ने नौ किलोमिट सडक यस्तै कालीका मावी जाली जोड्ने साढे तीन किलोमिटर सडक र हुलाकी सडक हुँदै जुगेडास्थित मुक्तकमैयाा बस्तीबाट जुगेडाको ‘डी’ गाउँ जोड्ने साढे तीन किलोमिटर सडक गरी जम्मा १६ किलोमिटर सडकलाई रिड्डरोड बनाइने कार्यालय प्रमुख बोहराले जानकारी दिए ।
सडक निर्माणका लागि पाँचवटा निर्माण कम्पनी छनौट गरिनु पर्ने हुँदा हाल बोलपत्र पेस गरेका ४० ओटा निर्माण कम्पनी मध्य समयमै निर्माण सम्पन्न गर्न सक्ने क्षमता भएको पाँचवटा कम्पनी छनौटका लागि तिनीहरूको विगत पाँच वर्षदेखि गरिदै आएको निर्माण कार्यलाई आधारमानी मूल्याङ्कन भइरहेको जनाइएको छ ।
यस्तै, सडक निर्माण कार्यको जिम्मा पाएका निर्माण कम्पनीहरूमध्ये सबै भन्दा छिटो गुणस्तरीय काम सम्पन्न गर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशतका दरले पुरस्कृत गर्ने र तोकिएको समय भन्दा ढिला काम सम्पन्न गर्ने व्यवसायीलाई दैनिक सोही अनुरूपको कारबाही गर्ने प्रावधान रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार