१० श्रावण २०८१, बिहीबार

नेपाल पत्रकार महासङ्घको महाधिवेशन जेठ २० गते हुने



काठमाडौँ । स्थानीय तहको निर्वाचनका कारण नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन एक महिना सर्ने भएको छ । अब जेठ २० गते काठमाडौमै महाधिवेशन हुने भएको छ ।
विगतमा विश्व प्रेस स्वतन्त्रता दिवसका दिन मे ३ मा महाधिवेशन हुने प्रचलन भए पनि स्थानीय तहको निर्वाचनका कारण महाधिवेशनमा एक महिना सार्ने निर्णय महासङ्घको १२ औँ पूर्ण बैठकले गरेको हो ।
स्थानीय तहको चुनाव नहुने अवस्थामा भने मे ३ मै चुनाव गर्ने प्रयास गरिने निर्णय पनि आइतबार नगरकोटमा बसेको बैैठकले गरेको महासचिव उजीर मगरले बताए ।
बैठकले अधिवेशन नभएका २० जिल्ला, १९ प्रतिष्ठान र १ एशोसियटलाई वैशाख ७ गतेभित्र अधिवेशन गर्नका लागि अन्तिम समयसीमा दिएको छ । वैशाख ७ गते चुनाव गर्न नसक्ने जिल्ला शाखा, प्रतिष्ठान र एशोसियटले महाधिवेशनमा भाग लिन नपाउने निर्णय पनि बैठकले गरेको छ ।
महाअधिवेशनका लागि केन्द्रीय समिति, वरिष्ठ पत्रकारहरू र सञ्चार सम्वद्धसंस्थाहरूबाट गरेर १०१ सदस्यीय मूल तयारी समिति गठन भएको छ । त्यस्तै, महासङ्घका केन्द्रीय पदाधिकारीहरूको संयोजकत्वमा केन्द्रीय सदस्य सदस्य रहने गरेर विभिन्न ११ वटा समिति गठन भएका छन् ।
झन्डै एक हजार चार सय प्रतिनिधि हुने अनुमान गरिएको महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ पत्रकार चिरञ्जीवी खनालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार