३ जेष्ठ २०८१, बिहीबार

माओवादी केन्द्रले चैत्रभित्र उम्मेदवारी टुंगो लगाउने



धनगढी । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर सातमा पार्टीका तर्फबाट चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने भएको छ । केन्द्रले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडा सदस्यहरूका उम्मेदवारको टुंगो लगाउने जनाएको छ ।
शनिवार माओवादी केन्द्रद्वारा अत्तरियामा आयोजित एका कार्यक्रममा पार्टीका प्रदेश इञ्चार्ज लेखराज भट्टले चैत १४ गते बसेको विस्तारित बैठकले २५ गतेभित्र सबै नगरपालिका र वडाबाट उम्मेदवारको सिफारिस पठाइसक्नु पर्ने निर्णय गरेको बताए । उनले अधिकांश नगरपालिका, गाउँपालिका र वडाबाट सम्भावित उम्मेदवारहरूको सिफारिस आइपुगेको बताए ।
उनले केन्द्रको कार्यविधि अनुसार वडा अध्यक्ष र सदस्यका लागि वडा समितिको सिफारिसका आधारमा गाउँपालिका वा नगरपालिकास्तरीय कमिटीले उम्मेदवारको छनौट गर्ने र नगरपालिका तथा गाउँपालिकाको सिफारिसका आधारमा प्रदेशले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको छनोट गर्ने बताए ।
यसैबिच, डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति, नेपाल पार्टीका एक सय ५० बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा फर्किएका छन् ।
नयाँशक्ति नेपालका केन्द्रीय परिषद् सदस्य मोहन गिरी, जिल्ला सहसंयोजक दीपक खत्री र डम्बर खड्का लगायत एक सय ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
शनिवार आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्ज लेखराज भट्टले टीका लगाएर स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार