६ कार्तिक २०८१, मंगलवार

नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा प्रभातफेरी र सभा



धनगढी । पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको ६२ औँ स्थापना दिवसमा बुधवार धनगढी र टीकापुरमा प्रभातफेरीसहित कोणसभा भएका छन् ।
नेपाल पत्रकार महासङ्घ कैलालीको आयोजनामा धनगढीको ट्राफिक चौराहबाट सुरु भएको र्‍याली जिल्ला समन्वय समितिको सभा कक्षमा पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सञ्चारकर्मीले महासङ्घको स्थापना दिवसमा पत्रकारहरूलाई शुभकामना दिँदै विकास, मानवअधिकार, उत्पीडनमा परेका व्यक्तिका पीडा, सरकारी क्षेत्रमा हुने वेथिति, भ्रष्टाचार, सरकारी ढिलासुस्तीका काम कारबाहीका बारेमा खोजमूलक पत्रकारिता गर्न जरुरी रहेको बताए । प्रजिअ रिजालले मिडिया र पत्रकारको सङ्ख्या धेरै भए पनि जिल्लामा राजनीतिक समाचारले मात्रै धेरै ठाउँ पाएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मनमोहन स्वाँरले २०११ सालमा नेपाल पत्रकार महासङ्घको स्थापना भएपछि पत्रकारिता क्षेत्रको क्रमिक रूपमा विकास भएको बताउँदै स्थानीय तहको चुनाव नागरिकका लागि कठिन र चुनौतिपूर्ण हुने र यो नागरिकका लागि अवसरको समय भएकाले मिडियाले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार घनबहादुर शाह, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष भरत शाह, ईन्सेक क्षेत्रीय संयोजक खडकराज जोशी, नेपाल बार एशोसियसन कैलाली अदालत बारका अध्यक्ष प्रेमबहादुर चन्द, नेपाल पत्रकार महासङ्घका निवर्तमान सचिव एकिन्द्र तिमिल्सिना, प्रेस युनियनका जिल्ला उपाध्यक्ष भीम चौधरी, फोनिजका जिल्ला अध्यक्ष अनत चौधरी, थारू पत्रकार सङ्घका अध्यक्ष प्रेम चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टंक कुँवरले स्वागत र सहसचिव श्रवण देउवाले सञ्चालन गरेका थिए ।
उता सञ्चारग्राम टीकापुरबाट निकालिएको प्रभातफेरी बजार परिक्रमा गरी पुन: सञ्चारग्रामस्थित सामुदायिक रेडियो टीकापुर एफएममा पुगी कोणसभामा परिणत भएको थियो ।
नेपाल पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाको अध्यक्षतामा भएको कोणसभालाई केन्द्रीय पार्षद गणेश चौधरी, दुर्गा भण्डारी र योगेश रावलले सम्बोधन गरेका थिए ।
सम्बोधन गर्ने वक्ताहरूले टीकापुरको पत्रकारिका विकास संख्यात्मक रूपमा भएकोले त्यसको गुणात्मकतिर ध्यान जरुरी रहेको बताएका थिए । स्थानीय मुद्दा र टीकापुरको विकासलाई जोडेर स्थानीय तहको निर्वाचनमा कलम चलाउनु पर्ने र पत्रकारितालाई मर्यादित र जनता प्रति उत्तरदायी बनाउनु पर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार