१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा करिब ७० प्रतिशत पाठ्यपुस्तक भित्रियो



धनगढी । नयाँ शैक्षिक सत्र २०७४ का लागि सुदूरपश्चिममा आवश्यक पर्ने पाठ्यपुस्तकममध्ये हालसम्म करिब ७० प्रतिशत पाठ्यपुस्तक भित्रिएको छ ।
विद्यालय तहका लागि पाठ्यपुस्तक बिक्रीवितरण गर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सुदूरपश्चिम क्षेत्रीय कार्यालयका अनुसार हालसम्म १४ लाख २८ हजार थान पाठ्यपुस्तक भित्रिएको छ । सुदूरपश्चिममा करिब २० लाख थान पाठ्यपुस्तक आवश्यक रहेको सो केन्द्रले जनाएको छ ।
केन्द्रका सुदूरपश्चिम क्षेत्रीय कार्यालय प्रमुख योगेन्द्र भट्टले चाढै नै बाँकी पाठ्यपुस्तक पनि आइपुग्ने बताए ।
समयमै पाठयपुस्तक नपुग्दा हरेक वर्ष सुदूरपश्चिमका अधिकांस सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाठ्यपुस्तक बिना नै पढाई गर्नुपर्ने अवस्था दोहोरिने गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्रले आर्थिक वर्ष २०७० देखि पाठ्यपुस्तक वितरणमा एकरुपता ल्याउने भन्दै सुदूरपश्चिमका आठ जिल्ला सदरमुकाममा सहायक डिलर स्थापना गरी पाठ्यपुस्तक बिक्रिवितरण गरेको थियो । तर त्यसरी वितरण गर्दा समेत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांस विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेपछि अघिल्लो वर्षदेखि पुन: पुस्तक पसलमार्फत नै पाठ्यपुस्तक बिक्रीवितरण गरिएको उनले बताए ।
गत वर्ष सुदूरपश्चिमका लागि १८ लाख थान पुस्तक आवश्यक भएकोमा आगामी शैक्षिक सत्रमा २० लाख थान आवश्यक रहेको केन्द्रले जनाएको छ ।
आगामी शैक्षिक सत्रमा कक्षा १० को पाठ्यक्रम परिवर्तन भएको हुँदा शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा परिमार्जित पाठ्यपुस्तक पुर्‍याउने तयारी अनुरुप काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार