१० श्रावण २०८१, बिहीबार

आसन्न स्थानीय तह निर्वाचन : मतदान स्थल थप गर्न सिफारिस



धनगढी  ।  आसन्न स्थानीय तहको चुनावका लागि प्रदेश नम्बर ७ (सुदूरपश्चिमाञ्चल) मा ८० वटा मतदान स्थल थप गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ ।
सात नम्बर प्रदेशका नौ जिल्लामा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटा स्थानीय तह निर्धारण गरिएको छ ।
स्थानीय तहको निर्धारण सँगै मतदान स्थलको पुनरावलोकन गर्ने क्रममा ८० वटा मतदान स्थल थप गर्नका लागि जिल्लाबाट सिफारिस गरेर निर्वाचन आयोगमा पठाइएको जनाइएको छ । पछिल्लो संविधान सभा निर्वाचनमा सुदूरपश्चिममा एक हजार ३५ मतदान स्थल रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालयहरूले मतदान स्थलको पुनरावलोकन गरेपछि यस प्रदेशबाट नौवटै जिल्लाका गरी एक हजार एक सय सात मतदान स्थल राखिने गरी निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुखहरूले अनुमोदन दैनिकलाई बताए ।
निर्वाचन आयोगमा सबै भन्दा बढी कैलालबाट मतदानस्थल थपका लागि सिफारिस गरिएको छ । कैलालीमा दोस्रो संविधानसभाको चुनावका बेला दुई सय १७ वटा मतदानस्थल रहेकोमा हाल स्थानीय तहको निर्वाचनका लागि थप १५ मतदान स्थल माग गरिएको कैलालीका क्षेत्रीय निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए ।
यसै गरी, स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा ६, बझाङमा २६, डोटीमा ९, अछाममा २, दार्चुलामा १४ र डडेल्धुरामा ८ वटा मतदानस्थल थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
पछिल्लो संविधान सभामा कञ्चनपुरमा एक सय २६, बझाङमा एक सय, डोटीमा एक सय छ, अछाममा एक सय २७, दार्चुलामा ९६ र डडेल्धुरामा ६९ मतदानस्थल रहेका थिए ।
उता, बाजुरामा भने पछिल्लो संविधानसभा निर्वाचनमा भन्दा कम मतदान स्थल सिफारिस गरिको छ ।
बाजुरामा पछिल्लो संविधान सभामा ७४ वटा मतदान स्थल रहेकोमा हाल ६९ वटा मतदान स्थलका लागि सिफारिस गरिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले जानकारी दिए ।
बैतडीमा दोस्रो संविधान सभा चुनावमा एक सय २० मतदान स्थल रहेकोमा हाल पुनरावलोकन पश्चात् पुन: एक सय २० वटा मतदान स्थलका लागि सिफारिस गरिएको बैतडीका निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फूँयालले बताए ।

सात नम्बर प्रदेशका सबै जिल्ला निर्वाचन कार्यालयहरूले मतदान स्थलको पुनरावलोकन कार्य सकेर निर्वाचन आयोगलाई विवरण पठाइसकेकोले मतदाता सङ्ख्या र मतदान केन्द्रको टुंगो निर्वाचन आयोगले नै लगाउने क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले बताए ।
‘जिल्लास्थित निर्वाचन कार्यालयहरूले पुनरावलोकन काम सकेर यही चैत १२, १३ र १४ गते जिल्ला निर्वाचन प्रमुख सहितका पदाधिकारीहरूलाई मतदान शिक्षाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ’, क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले भने– ‘नौ वटै जिल्ला निर्वाचन कार्यालयहरूले बुधवार नै जिल्लाभित्र रहेका कर्मचारीहरूको विवरण निर्वाचन आयोगलाई पठाइसकेका छन् ।

यस क्षेत्रका सबै जिल्लामा चुनावका लागि आवश्यक पर्ने मतदान केन्द्र, मतदान स्थल लगायत शान्ति सुरक्षाको अवस्थाबारे आवश्यक प्रक्रिया लगभग तयारी भइसकेको छ । चुनावमा सहभागी राजनीति दल र महानुभावहरूले निर्धक्करूपमा आफ्नो चुनावी गतिविधिमा लाग्न सुदूरपश्चिम उपक्षेत्रीय प्रशासक सुरेन्द्र पौडेलले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार