१० श्रावण २०८१, बिहीबार

ब्रह्मतोलाबासी आन्दोलनमा



बाजुरा   ।  स्थानीय तह पुन:संरचना गर्दा वडाको सीमांकन नमिलेको भन्दै बाजुरा जिल्ला साविक ब्रह्मतोला गाविसका केही वडाका बासिन्दा आन्दोलनमा उत्रेका छन् ।
स्थानीय तह पुन:संरचना गर्दा स्थानीयको सहमति विपरीत केन्द्रले वडाको सीमांकन अलग्गै तरिकाले गरेको भन्दै सङ्घर्ष समिति गठन गरी आन्दोलन सुरु गरेका हुन् ।
साविकको ब्रमतोला गाविस वडा नंम्बर ५, ६, ७ र ८ का स्थानीय बासिन्दा वडा कार्यालयमा धर्नादेखि कार्यालयमा तालाबन्दीसम्मका कार्यक्रम अघि सारेका छन् । आन्दोलनरत स्थानीयहरूले आफूहरूले गरेको सहमति विपरीत वडाको सीमांकन केन्द्रबाट आएको आरोप लगाएका छन् ।
स्थानीयले वडा नंम्बर १, ४, ९ मिलाएर एक वडा, २ र ३ मिलाएर एक वडा, ५, ६, ७ र ८ मिलाएर अर्को वडा सिफारिस गरी पठाएको भए पनि केन्द्रले यसलाई उल्टाएर १, ४, ५ को एक वडा, ६, ७, ८ र ९ मिलाएर एक वडा बनाई पठाएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन । हाल फरक वडामा राखेको १ र ९ वडाका घरसंगै जोडिएका र एउटै वडामा राखेका १ र ५ नंम्बर वडाको दूरी झन्डै दुई घण्टा भन्दा पनि बढी
पैदल दूरी रहेको स्थानीय खडकराज जोशीले बताए ।
उनले हाल केन्द्रले गरी पठाएको वडा सीमांकनले स्थानीयलाई निकै समस्या परेको बताए । आन्दोलनरत स्थानीयहरूले आफूहरूको सहमति विपरीत जिल्लास्तरीय प्राविधिक समितिले पनि सिफारिस गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
आन्दोलनरत स्थानीयहरूले आइतबार वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् भने सोमबार कार्यालयमा धर्ना र मङ्गलवारदेखि कार्यालयमा तालाबन्दी गर्ने जनाएका छन् । यसै गरी, त्यति गर्दा पनि आफ्ना मागको सुनुवाइ नभए सम्पूर्ण वडाबासीले नागरिकता जम्मा गरी जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय समेत गरेको सङ्घर्ष समितिका संयोजक चन्द्रबहादुर शाहले जानकारी दिए । राप्रपाका बरिष्ट जिल्ला उपाध्यक्ष शाहको संयोजकत्वमा गठन गरिएको सङ्घर्ष समितिमा
सह–संयोजक नेपाली काँग्रेस गाउँ कार्यसमिति सभापति जयराज उपाध्याय, उप–संयोजक नेकपा एमाले गाउँ कमिटी सचिवालय सदस्य धर्मराज जोशी र माओवादी केन्द्रका जिल्ला सदस्य बलबहादुर शाह सहित १५ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार