३ आश्विन २०८१, बिहीबार

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट एक नेपालीको मृत्यु



घटनाको चौतर्फी घोर विरोध र भत्र्सना, पुनर्बास आनन्दबजारमा तनाव जारी, ठाउँठाउँमा विरोध प्रदर्शन

 आनन्दबजार (कञ्चनपुर)  ।  नेपाली भूमिमा कल्भर्ट निर्माण गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय भारतीयहरूबाट भइरहेको हस्तक्षेपको विरोध गरिरहेका नेपालीहरूमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा बिहीबार कञ्चनपुर जिल्लाको पुनर्बास–८, आनन्दबजारमा एक नेपाली युवकको मृत्यु भएको छ ।
बिहीबार मध्यान्ह साढे बाह्र बजेतिर एसएसबीले नेपाली भूमिमा प्रवेश गरी गोली चलाउँदा पुनर्बास नगरपालिका–८, माछापुच्छ्रेटोलका ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ ।
एसएसबीको गोली प्रहारबाट गम्भीर घाइते गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याउने क्रममा बिच बाटोमै मृत्यु भएको गौतमका छिमेकी तारा खड्काले बताए ।
नेपाल–भारत सीमा अन्तर्गत कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारस्थित २०० नम्बर सीमा स्तम्भ नजिकको कारगिलडाँडा नजिकको खोलामा कल्भर्ट निर्माण गर्ने क्रममा करिब डेढ महिनादेखि एसएसबीले अवरोध गर्दै आएको स्थानीयले बताए । सो खोलामा कल्भर्ट निर्माणका लागि पुनर्बास नगरपालिकाले बजेट निकासा गरेको स्थानीयले बताए । कल्भर्ट निर्माण भइरहेको स्थान भारतीय सीमाभन्दा करिब दुई सय मिटर टाढा रहेको छ ।
बुधवार साँझ नै एसएसबीका जवानहरूले कल्भर्ट निर्माणको विषयमा नेपाली भूमिमा प्रवेश गरी घरघरमा गएर कुटपिट गरेका थिए । सोको विरुद्धमा पुनर्बासबासीले बिहीबार बिहानदेखि नै विरोध प्रदर्शन गरिरहेका थिए । विरोध प्रदर्शनका क्रममा भारतीय सुरक्षाकर्मी र भारतीय नागरिक तथा स्थानीय नेपाली जनताबीच केहीबेर झडप समेत भएको प्रत्यक्षदर्शी प्रतीक विष्टले बताए ।
स्थानीय आनन्दबजारबासीहरूका अनुसार त्यस लगत्तै हतियारधारी एसएसबीको जमातले नेपालीहरूलाई लखेट्दै नेपालतिरको आठ सय मिटर भूमिभित्र पसेर अन्धाधुन्ध गोली चलाएका थिए । उनीहरूल कम्तीमा १०/१२ राउण्ड हवाइ फायर समेत गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार एसएसबीका एक जना अफिसरले पेस्तोलबाट ताकेरै गोविन्दमाथि गोली चलाएका थिए ।
भारतीय सुरक्षाकर्मीहरूले आनन्दबजारका घरघरमा पसेर कुटपिट तथा लुटपाट समेत गरेका छन् । उनीहरूको कुटपिटबाट स्थानीय सागर थापा सहित १०/१२ जना घाइते भएका छन् । स्थानीय श्याम गुरुङको घरबाट टिभी, गरगहना लगायतका मालसामान लुटिएको बताइएको छ ।
घटनापछि त्यहाँ आइपुगेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर खनालप्रति पनि स्थानीयले आक्रोस व्यक्त गरेका थिए ।
घटनास्थलमा बिहीबार अबेर साँझसम्म तनाव रहेको छ । ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी रोवेन्द्रसिंह देउजाले स्थिति असमान्य बन्न नदिन नेपाली सुरक्षाकर्मीलाई सतर्करूपमा परिचालन गरिएको र नेपाली नागरिकलाई धैर्य र संयम रहन आग्रह गरे ।
घटनास्थलमा रहेका कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गरी उच्चस्तरीय टोली बनाउन र नेपाली पक्षबाट सुदूरपश्चिम क्षेत्रीय प्रशासकको टोली घटनास्थल आनन्दबजार पुगेको बताए । घटनास्थल कैलालीको सदरमुकाम धनगढीबाट २० किलोमिटर दक्षिणपश्चिमतर्फ पर्छ ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका गौतम छ महिनाअघि मात्र नेपाल आएका थिए । गौतमका तीन छोरी र एक श्रीमती रहेका छन् ।
गौतमको शव सीपी अस्पतालमै राखिएको छ । शवको पोस्टपार्टमका लागि प्रहरीले धनगढीस्थित सेती अञ्चल अस्पतालमा लिन प्रयास गरिरहेको भए पनि स्थानीयले लैजान दिएका छैनन् । मृतक गोविन्दका बुबा खिमलालले घटनाको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षले लिनुपर्ने र माफी मागेर क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

 

घटनाको चौतर्फी विरोध र भ्रत्सर्ना

मृतक  गोविन्द गौतम

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आनन्दबजारका युवक गोविन्द गौतमको मृत्यु भएको घटनाको विभिन्न राजनीतिक दल तथा पक्षबाट घोर विरोध तथा भ्रत्सर्ना भएको छ ।
नेपाली काँग्रेस कैलालीले प्रेस विज्ञप्ति जारी गर्दै यो घटना भारतीय पक्षबाट नेपालको राष्ट्रियतामाथि नै गरेको नाङ्गो हस्तक्षेप भएकोले तीव्र निन्दा एवं भ्रत्सर्ना गरेको छ । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहद्वारा बिहीबार साँझ जारी विज्ञप्तिमा कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ८ मा कल्भर्ट निर्माण गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल तथा स्थानीय भारतीयहरूबाट केही दिनदेखि भइरहेको खुला हस्तक्षेपको विरोध गरिरहेका नेपालीहरूमाथि भारतीय सुरक्षाकर्मीले गोली चलाएर गोविन्द गौतमको हत्या गरेको घटनाले नेपाली काँग्रेस, कैलालीलाई स्तब्ध र गम्भीर बनाएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– ‘नेपाली भूमिमा हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउने, कुटपिट र लुटपाट गरेका छन् । सागर थापा सहित ९/१० जना नेपाली घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीबाट भएको यो आक्रमणको नेपाली काँग्रेस कैलाली घोर भ्रत्सर्ना तथा निन्दा गर्दछ । नेपाली भूमिमा कल्भर्ट वा अन्य कुनै पनि भौतिक संरचना निर्माणमा भारतले हस्तक्षेप गर्नु हाम्रो राष्ट्रियतामाथिको नाङ्गो आक्रमण हो । नेपाली काँग्रेस कैलाली भारतीय सुरक्षाकर्मीबाट भएको यो हत्या घटनाबारे भारतीय पक्षले गल्ती स्वीकार गराउन तथा क्षतिपूर्ति दिलाउन नेपाल सरकारले तत्काल कुटनीतिक पहल गर्न माग गर्दछ । घटनामा मृत्यु हुनु भएका गोविन्द गौतमलाई शहीद घोषणा गर्न पनि माग गर्दछ ।’ विज्ञप्तिमा हरक्षण नेपाली सीमा सुरक्षा गरिरहनु भएका कारण ज्यानको आहुती दिनु भएका शहीद गोविन्दप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको छ ।
विज्ञप्तिमा घटनामा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । ‘नेपाली राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि एकजुट हुन सम्पूर्ण नेपालीहरूमा आह्वान गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

 

एमालेद्वारा विरोध प्रदर्शन


घटनाको विरोधमा नेकपा (एमाले) कैलालीले दिनभरि नै तीव्र विरोध तथा जुलुस प्रदर्शन गरेको छ ।
पार्टी अध्यक्ष दीर्घ सोडारीको नेतृत्वमा सयौँका सङ्ख्यामा नेताकार्यकर्ताले घटनास्थलमा चर्को नाराबाजी गरेका थिए ।
त्यस्तै, दिनभरि जसो नै धनगढी बजारमा विरोध प्रदर्शन गरिएको थियो । भारतीय सुरक्षाकर्मीबाट गोली प्रहार गरी नेपाली युवक गोविन्दको हत्या गरिएको घटना नेपाली राष्ट्रियतामाथिको नाङ्गो हस्तक्षेप भएको भन्दै एमालेले भारतीय पक्षले घटनाको जिम्मेवारी लिन र क्षतिपूर्ति दिन माग गरेको छ ।

 

आनन्दबार घटनापछिको प्रतिक्रिया

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार