१० श्रावण २०८१, बिहीबार

बाल उद्यान सञ्चालनमा



धनगढी ।  कैलालीको धनगढी उपमहानगरपालिका–१, नगरपालिका रोडस्थित शान्ति बाल उद्यान सञ्चालनमा आएको छ ।
जीर्ण अवस्थामा रहेको उद्यानलाई धनगढी उपमहानगरपालिकाले २०७० साल असारमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि विद्यालयले मर्मत सम्भार गरी शुक्रवार उद्यान सञ्चालनमा ल्याएको हो ।
माटो फिलिङ्, रंगरोगन, फुलबारी बगैचा, पिरामिड योग धाम, शान्तिको प्रतीक परीको मूर्ती लगायत बनाएर शान्तिको सन्देश दिन र मानिसको मनलाई शान्त बनाउन उद्यानले सहयोग गर्ने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालक हिरा दिदीले जानकारी दिइन् ।
धाममा बनेका संरचनामा धनगढी उपमहानगरपालिका, सांसद पुष्करनाथ ओझा, समानुपातिक सांसद गीता राणा र रुडुक नेपालको आर्थिक सहयोग रहेको छ । धाममा धनगढी उपमहानगरपालिकाले नौ लाख, पिरामिड योग धाममा सांसद पुष्करनाथ ओझाले सात लाख, शान्तिको प्रतीक परीको मूर्तीमा रुडुक नेपालले एक लाख र रेलिङका लागि समानुपातिक सांसद गीता राणाले एक लाख आर्थिक सहयोग गरेको हिरा दिदीले जानकारी दिइन् । नेपालमै पहिलो पटक उद्यानमा पिरामिड योग धाम बनाइएको उनले बताईन् ।
उनले उद्यानको संरचनाहरू अझै बन्न बाँकी रहेको बताईन् । उनले अहिले उद्यानको ३० प्रतिशत संरचना मात्र बनिसकेको र ७० प्रतिशत संरचना बन्न बाकी रहेको जानकारी दिइन् ।
शान्ति बाल उद्यानको शुक्रवार सांसद पुष्करनाथ ओझाले उद्घाटन गरेका थिए । उद्यानको उद्घाटन गर्दै सांसद ओझाले उद्यान यस क्षेत्रमै नमुना, प्रदुर्षणरहित भएको बताए । उनले उद्यानले पूर्वाधारमा अझै पूर्णता पाइनसकेकाले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अर्का सांसद मोहनसिंह राठोरले देशमा भएको लामो जनआन्दोलन कारण द्वन्द्वले अहिले पनि मानिसलाई पीडा दिइरहेको र उद्यानमा आउने व्यक्तिहरूको मनलाई शान्त बनाउन सहयोग गर्ने आशा व्यक्त गरे । उनले उद्यानमा बनेको संरचनाहरू शान्तिको प्रतीक रहेको पनि बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले धनगढी उपमहानगरपालिका मातहतमा उद्यान रहँदा उपयोग हुन नसकेपछि २०७० साल असारमा ब्रह्मकुमारी विद्यालयलाई हस्तान्तरण गरेपछि ढेड वर्षको अवधिमै जीर्ण उद्यान आकर्षक बन्दै गएको बताए । उनले उद्यानको संरचना विकास, प्रवद्र्धन गर्न र पूर्वाधार निर्माणमा धनगढी उपमहानगरपालिकाले आगामी दिनमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
ब्रहमकुमारी विश्व विद्यालयकी सञ्चालक ईश्वरी दिदीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी, नेपाली काँग्रेसका नारायणदत्त मिश्र, महिला तथा बालबालिका कार्यालयकी निमित्त कार्यालय प्रमुख पूजा काफ्ले, अखिल नेपाल महिला सङ्घकी निवर्तमान अध्यक्ष सन्तोष शर्मा, साहित्य समाजका पूर्व अध्यक्ष पदमराज जोशी, मदनराज पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयकी सह सञ्चालक दुर्गा बहिनीले स्वागत गरेको कार्यक्रमको उद्देश्य सञ्चालक हिरा दिदीले जानकारी गराएकी थिइन भने उद्यानबारे अधिवक्ता विरबहादुर जेठाराले जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन धनगढी–२ का संयोजक हेमराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार