१० श्रावण २०८१, बिहीबार

वित्तीय जागरणका लागि अत्तरियामा अभियान



धनगढी  ।  वित्तीय साक्षरता वृद्धि गर्न ‘वित्तीय जागरण: राष्ट्रिय अभियान’ आयोजना गरिने भएको छ । ‘बैङ्क सँगको नाता, हरेक नेपालीको बैङ्क खाता’ भन्ने नाराका साथ मिडिया इन्टरनेशनलको आयोजना र नेपाल राष्ट्र बैङ्कको प्रवद्र्धनमा आज (शनिवार) अत्तरियास्थित दुर्गा लक्ष्मी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम गरिने भएको हो ।
मिडिया इन्टरनेशनले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी वित्तीय साक्षरता सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले अभियानको आयोजना गर्न लागेको जानकारी दिएको हो । आज (शनिवार) आयोजना गरिन लागेको सो कार्यक्रममा पाँच देखि सात हजार जनाको सहभागिता रहने आयोजकको दाबी छ ।
अभियानको उद्घाटन नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कात्तिकमा लुम्बिनीबाट सुरु गरिएको यो अभियान आज (शनिवार) अत्तरियामा गर्न लागिएको आयोजकले जानकारी दिए । कार्यक्रममा यस क्षेत्रका दर्जनभन्दा बढी बैङ्कहरूको स्टल रहनुका साथै एक हजार प्रशिक्षकले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिने जनाईएको छ ।
बैङ्कको पहुँच पुगेका स्थानमा पनि वित्तीय साक्षरताको अभाव देखिएकाले सर्वसाधारणको पहुँच बैङ्कसम्म पुऱ्याउन यो कार्यक्रम प्रभावकारी हुने नेपाल राष्ट्र बैङ्क धनगढी शाखाका निर्देशक विश्रुत थापाले बताए ।
उनका अनुसार सुदूरपश्चिमका नौ वटा जिल्ला मध्ये कैलाली र कंचनपुरमा बैङ्क तथा वित्तीय संस्थाको उपस्थिति राम्रो रहेको छ । तर पहाडी सात वटा जिल्लामा बैङ्कको उपस्थिति न्यून रहेकाले वित्तीय साक्षरताको पनि कमी देखिएको निर्देशक थापाले जानकारी दिए । उनले भने पहाडी जिल्लाका सदरमुकाममा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूले आम सर्वसाधारणलाई समेट्न सकेको देखिएन् ।
वित्तीय साक्षरता सम्बन्धी सर्वसाधारणमा जानकारी नभएको पाइएकोले नेपाल राष्ट्र बैङ्क धनगढी शाखाले पनि वित्तीय साक्षरता बारे जानकारी दिइरहेको थापाको भनाई छ । उनका अनुसार सुदूरपश्चिममा दुई सय तीन वटा बैङ्क तथा वित्तीय संस्थाहरू रहेका छन् ।
शनिवार अत्तरियामा आयोजना हुने लागेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा म्यानेजमेण्ट पढिरहेका विद्यार्थीहरूलाई स्वदेशमै रोकेर उद्यमशील बनाउन सकिन्छ भन्ने बारे जानकारी गराइने बताइएको छ । कार्यक्रममा यस क्षेत्रमा रहेर उद्योग व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूको पनि सहभागिता रहने छ ।
कार्यक्रममा एनआईसी एसिया बैङ्कका सिईओ लक्ष्मण रिसालले वित्तीय दरमा वृद्धि भइरहेको भए पनि वित्तीय साक्षरता दरमा सुधार ल्याउन नसकिएको बताए ।
‘गाउँ–गाउँमा लघुवित्त, सहकारी छन्, सहरमा बैङ्कहरू रहेका छन्’ उनले भने, ‘बैङ्क तथा वित्तीयको पहुँच भए पनि सेवा लिने सेवाग्राहीको सङ्ख्या न्यून छ ।’ उनले बैंकिङ्ग कारोबार गर्ने बानीको विकास गर्न साक्षरता अभियान लगायत जनचेतनाको अभिवृद्धि गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा सांग्रिला विकास बैङ्कका सिईओ राजेन्द्रप्रसाद पौडेलले ०४१ सालमा राष्ट्र बैङ्कले निजी
बैङ्कको अवधारणा ल्याएपछि बैङ्कहरू आधुनिक प्रविधिमा प्रवेश गरेको बताए । बैङ्कहरू गाउँ टोलमा पुग्ने क्रम वृद्धि भए पनि बैङ्कले दिन सेवाबारे जनचेतना नभएकाले बैंकिङ् जनचेतना फैलाउन अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले बैङ्क तथा वित्तीय संस्थामा कारोबार गर्दा लाभान्वित हुनुका साथै पैसाको महत्त्व, पैसा कमाउने, बचत गर्ने लगायतको बानीको विकास हुने बताए ।
वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएर आफ्नै क्षेत्रमा उद्यमशिलता हासिल गर्ने प्रेरणा मिल्ने आशा व्यक्त गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरतासँगै सर्वसाधारणलाई पायक पर्ने स्थानका बैङ्कमा खाता खोल्ने समेत व्यवस्था गरिएको छ । उक्त स्थानमा विभिन्न स्टलहरू पनि राखेर बैङ्क तथा वित्तीय साक्षरताको जानकारी दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार