१० श्रावण २०८१, बिहीबार

पत्रकारले गोपनियतामा ध्यान दिनुपर्छ : जिल्ला न्यायधिस महरा



धनगढी । लैंगिक हिंसासम्बन्धी पत्रकारितामा आचार संहिता तालिम धनगढीमा सुरु भएको छ ।
संचारिका समूहका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा उद्घाटन भएको तालिमको उद्घाटन गर्दै जिल्ला अदालत कैलालीका जिल्ला न्यायधिस धनसिंह महराले पत्रकारले पत्रकारले गोपनीयतामा ध्यान नदिंदा पीडित झन् बढी पीडामा पर्ने गरेको बताए ।
जिल्ला न्यायधिस महराले गोपनीयता भनेको ज्यादै सम्बेदनशिल विषय भएकोले समाचार लेख्दा पत्रकारबाट धेरै गल्ती हुने गरेको बताउँदै उनले भने– ‘सामाजिक सञ्जालमा पछिल्लो समय आउने सामग्री प्रति पनि पत्रकारहरू सचेत हुन जरुरी छ । त्यस्ता कार्यको पत्रकारका कलमले प्रतिकार गर्न आवश्यक छ ।’
‘अदालतले बलात्कार, यौन दुव्र्यवहार, बालबालिकामाथि हुने हिंसाका कुराहरूमा गोपनीयतामा ध्यान दिने गरेको बताउँदै पत्रकारलाई पनि सम्वेदनशिल कुराबारे जानकारी दिन जरुरी छ,’ उनले भने । महराले अदालतले व्यक्तिगत रूपमा फोनको कल डिटेल लिन थालिएपछि अदालतको आदेश विना प्रहरीले पनि कल डिजेल लिन नपाउने व्यवस्था गरेको समेत जानकारी दिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले हिंसा न्यूनिकरणका लागि सहभागितामा जोड दिनुपर्ने बताए । सुदूरपश्चिममा छाउपडी जस्ता विभिन्न कारणले महिलामाथि हिंसा हुने गरेको बताए । उनले थारू समुदायमा छाउपडी जस्ता प्रथा नरहेको बताउँदै उनले भने, ‘थारू समुदायमा पनि हिंसा नभएको होइन । तर, छाउपडी प्रथा मान्दैनन्, यस्ता खाले सन्देशमूलक खालमा समाचार पत्रकारले लेख्न जरुरी छ ।’
कार्यक्रममा संचारिका समूहका अध्यक्ष निर्माल शर्माले पत्रकाहरूले सम्वेदनशिल भएर रिपोटिङ गरेमा पत्रकारितामा न्याय पुग्ने बताउँदै पत्रकारिता गरेपावत कसैलाई पीडा दिने काम गर्न नहुनेमा सचेत रहन आग्रह गरिन् । अध्यक्ष शर्माले पत्रकार र्लैंगिक रूपमा सम्वेदनशिल हुनैपर्ने भएकोले दक्षता र आचारसंहिताबारे ज्ञान मिलोस् भनी तालिम आयोजना गरिएको बताइन् । शर्माले सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाको चरित्रका कुरा बढी उठाउने प्रचलन रहेकोले पत्रकारले महिलाका समाचार लेख्दा बढी ध्यान दिनुपर्छ भनिन् । उनले भनिन्– ‘महिलाको चरित्रका कुरा बढी जसो निर्वाचनका बेला हुन्छन् । यस्ता कुरामा पत्रकार सचेत हुन आवश्यक छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाहले नेपाल पत्रकार महासङ्घले पत्रकारितामा पनि महिलाको सङ्ख्या बढाउनुपर्छ भनी विधानमै व्यवस्था गरेको बताउँदै अब हुन लागेका महाधिवेशनले धेरै महिला समेट्ने बताए । उनले महिला धेरै आएमा मिडियामा महिलाका विषय पनि धेरै समेटिने बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक मोहन मैनाली, पत्रकार महाससंघ कैलालीका अध्यक्ष भरत शाह, प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउँद, प्रेस चौतारीका केन्द्रीय सचिव हेमकर्ण बिक, युएनएफपीएका कार्यक्रम संयोजक गिरी पन्थी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सुदूरपश्चिमका पत्रकारका लागि आयोजना गरिएको तालिम दुई दिनसम्म चल्नेछ तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाका २५ जना सहभागी छन् । कार्यक्रम संचारिका समूह सुदूरपश्चिमका अध्यक्ष दुर्गा देवकोटाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार