४ जेष्ठ २०८१, शुक्रबार

शिक्षा अधिकारीहरूको गुनासो– नकारात्मक प्रचार बढी भयो



धनगढी  ।  शिक्षा अधिकारीहरूले पछिल्ला केही वर्षयता समाजमा शिक्षा क्षेत्रबारे नकारात्मक प्रचार बढी भइरहेको गुनासो गरेका छन् ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी आउने क्रम बढेसँगै शिक्षा क्षेत्रमा सुधार ल्याए पनि समाजमा बढी नकारात्मक हल्ला र प्रचार हुने गरेको छ’ ‘सुशासन प्रवद्र्धनसम्बन्धी क्षमता विकासका लागि जिल्ला शिक्षा अधिकारी र फोकल पर्सनहरूको दुई दिने कार्यशाला’ समापनमा शिक्षा अधिकारीहरूले भने– ‘शिक्षा क्षेत्रमा फैलाइएको नकारात्मक वातावरणमा सुधार गर्न ठोस नीति आवश्यक छ ।’
कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले अख्तियारमा परेका उजुरीले शिक्षा क्षेत्रमा काम गर्ने सहज वातावरणको निर्माण भए पनि समाजले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण भने नाकारात्मक बन्दै गएको बताए ।
अछाम जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले अख्तियारले दिएको आदेश अनुसार काम गर्न झन्झट खेप्नु परिरहेको बताए । ‘अख्तियारले दुई दिनभित्रै स्पष्टीकरण पठाउँ भन्छ’ उनले भने– ‘हामीले स्पष्टीकरणका लागि सम्बन्धित विद्यालय जाँदा कहिले प्राधानाध्यापक भेटिदैन्, कहिले फुर्सद हुँदैन । ढिलो स्पष्टीकरण पठाउँदा कार्यालयमाथि नै दोष थुपरिन्छ ।’
उनले कार्यालयमा कति उजुरीहरूको जवाफ दिइयो, कति दिन बाँकी छ त्यसको लागत राख्ने काम नहुँदा समस्या भइरहेको बताए । उनले अख्तियारका उजुरी हेर्न कार्यालयमा एउटा अलग्गै व्यक्तिको व्यवस्था गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा शिक्षा विभागका उपसचिव लीलामणि पोखरेलले शिक्षा क्षेत्रमा आएका उजुरीहरूलाई समयमै व्यवस्थापन गर्न सके उजुरी न्यून गर्न सकिने बताए । ‘अख्तियारमा कसैको उजुरी पर्दैमा तपाईहरूले आत्तिनुपर्दैन’ उनले अख्तियारले मागेको कागजपत्रमा तपाईहरूले स्पष्ट रायसहित समयमै बुझाउनुहोस् ।
उपसचिव पोखरेलले कुनै विद्यालयले अनियमितता गरेको पाइएमा शिक्षा कार्यालय आफैले कारबाही गर्ने अभ्यासको विकास गर्न जरुरी रहेको बताए । ‘शिक्षा कार्यालयले गलत काम गर्ने विद्यालयलाई कारबाही गर्न नसकेकै कारण अहिले अख्तियारले कारबाही अगाडि बढाइरहेको छ’ उनले भने ।
उपसचिव पोखरेलले छिट्टै शिक्षा नियमावली आउने बताए । उनले सो शिक्षा नियमावलीले क्षेत्रमा विद्यमान विकृतिहरूलाई नियन्त्रण गर्ने बताए । ‘विद्यालयमा प्रधानाध्यापक नबस्ने, शिक्षकहरू हाजिर लगाएर अन्यत्रै जाने जस्ता विकृति यो नियमावलीले रोक्ने छ’ उनले विश्वास व्यक्त गरे ।
उनले शिक्षा अधिकारीहरू विद्यालयमा अवलोकन गर्न जाँदा विद्यालयका प्रधानाध्यापकलाई सिकाई उपलब्धिमा सुधार गर्दै लैजाने प्रतिबद्धता गराउन पनि सल्लाह दिए ।
सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता अनिलकुमार उप्रेतीले अख्तियारले दिएको निर्देशन अनुसार समयमै कागजपत्रहरू ठोस राय सुझाव सहित पठाउँदा समस्या नहुने बताए ।
कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशक लालजंग चौहानको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार