८ पुष २०८१, सोमबार

काठ तस्करी प्रकरण :  तस्करीमा ठूलो गिरोह रहेको आशंका



टीकापुर ।  प्रहरीमाथि कुटपिट गर्ने काठ तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले गत एक गते पथरैया गाविस वडा नम्बर ६ मा काठ तस्करलाई पक्राउ गरेपछि तस्करहरूले प्रहरीलाई कुटपिट गरेका थिए ।
प्रहरीले घटनामा संलग्न दुर्गौलीको सुवर्णपुरका १७ वर्षीय विनोद चौधरी, २० वर्षीय महेश चौधरी र छतिवन सामुदायिक वनका सचिव लालबहादुर चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
विनोद र महेशलाई लगाइएको हतकडी, हतकडी काट्न प्रयोग गरिएको सामान पनि प्रहरीले बरामद गरेको छ । उनीहरूको खेतबाट १५ थान कडी माटोमुनि गाडेको अवस्थामा फेला परेको छ ।
सो दिन बेलुका साढे ८ बजेतिर पथरैयाको भगरैया नजिकै गोरुगाडामा काठ ल्याउंदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरी हतकडी लगाएपछि पछाडिबाट आएको एक समूहले प्रहरीलाई कुटपिट गरी भागेका थिए ।
काठ तस्करको कुटाइबाट प्रहरी चौकी अमरावतिका इञ्चार्ज बृजलाल अधिकारी घाइते भएका थिए । तस्करहरूको कुटाईबाट बच्न स्थानीयलाई गुहार माग्न आएका सिपाही गणेश सेठ्ठीले स्थानीयलाई गुहारेपछि प्रहरीलाई उद्दार गर्न गएका स्थानीय वीरेन्द्र जैसी प्रहरीको गोली लागेर घाइते भएका थिए । उनको काठमाडौंमा उपचार भइरहेको छ ।
अमरावतिका इञ्चार्ज अधिकारीले हतकडी लगाएका तस्कर भागेपछि चार राउण्ड हवाई फायर गरेको बताए ।
तस्कर भएको आशंकामा गोली चलाउँदा घाइते भएका जैशी खतरामुक्त रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए ।
प्रहरी उपरीक्षक पाठकले घटना भएको भोलिपल्ट महेश चौधरीको मोबाइल फेला परेपछि त्यसकै आधारमा अनुसन्धान गरेको र यसमा ठूलो तस्करको गिरोह भएको हुनसक्ने बताए ।
घटनामा संलग्न लालबहादुर चौधरीलाई वन मुद्दा लगाइएको छ भने स्थानीय सुनिल चौधरीको (सुरेन्द्र) घरबाट १९ थान कडी र लालबहादुरको घरबाट १३ थान कडी समेत बरामद गरेको जनाएको छ । घटनामा संलग्न अन्य दुई जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा ठूलै गिरोह संलग्न भएको आशंका गर्दै संगठित अपराधको मुद्दा दायरा हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार