१३ बैशाख २०८१, बिहीबार

फिल्मशैलीको अपहरणको कथा



धनगढी  ।  ‘बुधवार अन्दाजी दुई बजेतिर लम्की क्याम्पसभन्दा केही टाढाको चिया खान गएको थियौँ । चिया खाएर क्याम्पस फर्किने क्रममा बाटोमै एकाएक एउटा स्कारपियो गाडीभित्र हामीलाई राखेर गाउँभित्र लगियो २४ घण्टापछि विप्लव माओवादीका कार्यकर्ताबाट अपहरणमुक्त भएका लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापाले प्रहरीसंगको बयानमा भने– ‘फिल्मी शैलीमा गाडीमा हालेर हामीलाई गाउँमा लगेर राखियो ।’
क्याम्पस प्रमुख थापाका अनुसार उनीहरूलाई मुनुवा गाविसको एउटा गाउँमा राखिएको थियो । ‘खान, सुत्न र बस्न समस्या थिएन । बेलाबेला परिवारसम्म सकुशल रहेको खबर पनि पुर्‍याइरहेका थिए’ उनले आफ्नो मोबाइल फोन नियन्त्रणमा लिए पनि अपहरणकारीले आफ्न्तलाई खबर गरिरहेको बताएको कैलाली प्रहरी प्रमुख अर्जुन चन्द ठकुरीले अनुमोदन दैनिकसंगको कुराकानीमा बताए ।
अपहरणमुक्त थापाले प्रहरीसंग भनेका छन्– ‘हामीलाई समस्या दिनुभन्दा पनि अपहरणकारीको ‘एक दिनसम्म हामीलाई नियन्त्रणमा राखेर स्ववियु निर्वाचन स्थगित गराउने योजना रहेछ ।
क्याम्पस प्रमुख थापा, सहायक क्याम्पस प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र उपप्राध्यापक अमर रावल बुधवार दिउँसो अन्दाजी २:३० बजेदेखि सम्पर्कबिहिन भएपछि प्रहरीले साँझ चारबजेदेखि खोजबिन सुरु गरेको थियो । खोजबिन गर्ने क्रममा राति क्याम्पस प्रमुखले आफ्न्तलाई सम्पर्क गरेकोले अपहरण नभई नाटक भएको शङ्का गरिएको थियो । तर बिहीबार दिउँसो ४ बजे पथरैया–३, अमौरानबाट फेला पारेर सोधपुछ गर्ने क्रममा उनीहरूको नाटक नभई अपहरणनै भएको खुलेको प्रहरी प्रमुख चन्दले बताए ।
मुनुवाबाट उनीहरूलाई दुई मोटरसाइकलमा बोकेर अमौरामा छोडिएको र प्रहरीले खोजबिन गर्ने क्रममा पैदल घरतर्फ आउने क्रममा फेला पारेको उनले बताए ।
विप्लव माओवादी विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनका लागि सात बुँदे माग राखेकाले वार्ता गर्न भनेर क्याम्पस प्रमुखसहित तीन जनालाई गाडीमा राखेर लगेको बताइएको छ ।
केन्द्रमा विद्यार्थी संगठनहरुबीच निर्वाचनको मिति सार्ने सहमति भएपछि रिहा गरिएको विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष वीरेन्द्र विकले यस दैनिकसंगको कुराकानीमा बताए ।

 

सम्बन्धित थप समाचार

अपहृत शिक्षकहरू सकुशल रिहा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार