१६ चैत्र २०८०, शुक्रबार

परदेशको एक लाख भन्दा घरदेशको २५ हजारमा रमाएका दिपेन्द्र



मुकेश टेंर्रा/कैलाली  ।  कैलालीको लम्की बसपार्कका दिपेन्द्र ठाकुरलाई दिनभर भ्याइनभ्याइ हुन्छ । दिनभरमा ३० देखि ४० जनाको कपाल काट्दा फुर्सद होस पनि कसरी । त्यसैले केही गफ गर्न प¥यो भने उहाँ काम सँगसँगै गफ गर्नुहुन्छ काम रोक्नुहुन्न ।
यो व्यस्त बनाउने सीप आफ्नो पुरानो ठाउँ सिरहामा सिक्नुभएको हो दिपेन्द्रले । तर सीप सिकेपछि उहाँले त्यो काम आफ्नो ठाउँमा सुरु गर्नुभएन । त्यति बेलाको विदेश जाने सोचले उहाँलाई विदेश पु¥यायो । ‘यहाँ त गरेर केही हुन्छ जस्तो लागेको थिएन’ दिपेन्द्रले भन्नुभयो । विदेशबाट आएकाहरुको जीवनस्तर फेरिएको राम्रैसँग देख्नुभएको थियो दिपेन्द्रले । विदेश गएको भनेपछि गाउँलेले आफुँसंगै आफ्नो परिवारलाई गर्ने इज्जत पनि बेग्लै । त्यति मात्रै होइन राम्रो कमाएर गाउँबाट सहरमा सर्न पायो भने त झनै गज्जव । विदेश गएकाहरुको फेरिएको यस्तै जीवनले लोभ्याउँछ हर कोहीलाई । त्यस्तै भयो दिपेन्द्रलाई । उहाँका केही साथीले कपाल काटेरै नेपालमा आफ्नो घर परिवार चलाएको पनि देख्नुभएको थियो तर यो भन्दा पनि विदेश गएर प्रगति गरेकाहरुको प्रगति तान्यो उहाँलाई । त्यसैले हेयर ड्रेसि¨ सम्बन्धी तालिम लिनुभयो अनि जानुभयो साउदी अरब ।
२०६१ सालमा साउदी गएका दिपेन्द्रले तीन महिना शैलुनमा वर्करका रूपमा काम गर्नुभयो । तर त्यसपछि त उहाँ सुपरभाइज हुनुभयो । वर्कर हुँदा महिनाको ४० हजार रुपैयाँ कमाउने दिपेन्द्रको तलब सुपरभाइजर भएपछि एक लाख विष हजार पुग्यो । ‘तर कमाइले मात्रै सन्तुष्टि दिँदो रहेनछ’ दिपेन्द्र भन्नुहुन्छ ‘घर परिवारको सम्झनाले छाती पोलेपछि कमाइले के गर्नु ?’ त्यसैले ६ वर्ष बसेपछि उहाँले नेपाल फर्किने निधो गर्नुभयो । त्यति बेलासम्ममा परिवार सिरहाबाट काम खोज्दै कैलाली पुगिसकेको थियो । त्यसैले उहाँ कतारबाट सिधै कैलाली पुग्नुभयो । विदेशबाट फर्किने बित्तिकै दिपेन्द्रले कैलालीको लम्कीकी गीता ठाकुरसंग विवाह गर्नुभयो । त्यसपछि त त्यहाँबाट सरेर अन्त जाने कुरै भएन । अनि सुरु गर्नुभयो शैलुन ।

सीप भए जहीँ पनि रोजगार
शैलुन खोलेको तीन वर्ष भयो । अहिले महिनाको २० देखि २५ हजार रुपैयाँ कमाउन थालेपछि उहाँ खुसी हुनुहुन्छ । ठाकुर भन्नुुहुन्छ ‘यहाँ २०÷२५ हजार महिनाको हुन्छ त्यो पनि परिवारसंगै बसेर । यसबाट परिवार त चलेकै छ बचत पनि गरिरहेको छु ।’ ६ वर्षको विदेश बसाइले दिपेन्द्रको मात्रै होइन परिवारकै अवस्था पनि फेरिएको छ तर अब फेरि विदेश जाने सोच चाहिँ छैन उहाँमा । सिरहामा हुँदै सिकेको सीपले विदेशसंगै घर फर्किएपछि पनि राम्रो साथ दिएपनि दिपेन्द्र अहिले दङग हुनुहुन्छ । भन्नुहुन्छ ‘विदेश जानको लागि सिकेको सीप आफ्नो गाउँघरमा पनि काम लाग्यो । यो सीप नभएको भए यहाँ के हुन्थ्यो र !’
व्यावसायिक खेतीका लागि कैलाली आएका उनका परिवारमा बुवा, आमा, श्रीमती र छोरी छन् । आमाको केही वर्ष पहिले मृत्यु भयो । अहिले बुवा खेती गर्नुहुन्छ । श्रीमती घर काजमा व्यस्त हुनुहुन्छ । गीता भन्नुहुन्छ ‘उहाँले व्यवसाय गर्नुहुन्छ । म घर सम्हाल्छु । विदेश गइरहनु पर्दैन । गाउँघरमै ठिक छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार