६ कार्तिक २०८१, मंगलवार

हात्तीपाइले नियन्त्रण कार्यक्रम : उपलब्धी कमजोर



धनगढी । हात्तीपाइले रोग नियन्त्रणका लागि लामो समयदेखि विभिन्न कार्यक्रम र प्रयास भइरहे पनि उपलब्धी कमजोर रहेको तथ्यांकले देखाएका छन् । हात्तीपाइले रोग नियन्त्रणका लागि सो विरुद्धको औषधि खुवाउने कार्यक्रम जारी छ । कैलालीमा लगातार छ वर्षसम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागको टोलीले कात्तिकको तेस्रो साता कैलालीको घोडाघोडी वडा नम्बर १०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिकाको वडा नम्बर ६, ८ र १० (साविकको चुहा गाविस) मा छ सय जनाको रगत चेक गर्दा ३८ जना (६ दशमलव ३३ प्रतिशत) मा हात्तीपाइले पोजेटिभ देखिएको छ ।
आम औषधि सेवन (एमडिए) २०१३ को तथ्यांकअनुसार कैलालीमा तीन हजार सात सय १७ जनामा हात्तीपाइले पोजेटिभ देखिएको थियो ।
कैलालीको साविक पहलमानपुरमा तीन सयमा २४ अर्थात् आठ प्रतिशत र चुहामा तीन सयमा १४ अर्थात् चार दशमलव ६६ प्रतिशत हात्तीपाइले पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताए ।
कैलाली जिल्लामा सन् २०१३ देखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्लामा पाँचौ चरणसम्म सञ्चालन हुँदा सेवन कार्यक्रमले ६५ प्रतिशतभन्दा माथि छोएको देखाएको छ । सन् २०१३ मा जिल्लामा ६६ दशमलव ५५ प्रतिशत, सन् २०१४ मा ६८ दशमलव ५० प्रतिशत, सन् २०१५ मा ६९ दशमलव ३२ प्रतिशत, सन् २०१६ मा ६४ दशमलव आठ प्रतिशत र सन् २०१७ मा ६९ दशमलव ७ प्रतिशत औषधी सेवन कार्यक्रमले छोएको देखाइएको छ ।
नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइलेलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्साबाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।
सरकारले सन् २०१८ भित्र हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ । देशका ३० जिल्लामा अहिले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको छ ।
हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफ्नै उपस्थितिमा खुवाइएको थियो । विगतका वर्षमा हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण यस्तो अवस्था आएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले बताए ।
उनले हात्तीपाइलेको औषधि खाँदा हुन सक्ने प्रति असरबारे स्वास्थ्यकर्मीले राम्रोसँग बुझाउन नसकेको बताए । उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्युसम्म भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत र भ्रामक प्रचारका कारण औषधि लिने, तर नखाने समस्या छ । हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने प्रतिअसर देखिन सक्छ ।
६ वर्ष लगातार औषधि खुवाउँदा पनि कैलालीमा ६ प्रतिशतभन्दा बढी हात्तीपाइले पोजेटिभ देखिएपछि हात्तीपाइले औषधि खुवाउने कार्यक्रम प्रभावकारितामाथि पनि प्रश्न उठेको हो ।
लगातार ६ पटक औषधि खुवाइएका कारण हात्तीपाइले रोगको असर १ प्रतिशत भन्दा कम हुने अपेक्षा गरिएको थियो । तर, हात्तीपाइलेको पछिल्लो अवस्था पत्ता लगाउने उद्देश्यले गरिएको अध्ययनले कैलालीमा अझै पनि करिब ६ प्रतिशत जनतामा हात्तीपाइले पोजेटिभ छ ।

कात्तिक २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार