१७ कार्तिक २०८३, सोमबार

आईजीपीको राजीनामाबारे एआईजीलाई अग्रिम सूचना बाह्य व्यक्तिसँगको संवादले उठायो प्रश्न



एआइको सहयोगमा बनाएको तस्बिर ।


काठमाडौं/ नेपाल प्रहरीको नेतृत्व परिवर्तनबारे चर्चा भइरहेका बेला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी र खगेन्द्र सुनारका निकट सहयोगी मानिने नारायण भण्डारीबीच भएको भनिएको टेलिफोन संवाद सार्वजनिक भएको छ। नेपाल लिडलाई प्राप्त अडिओमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोलिपल्ट ‘१०० प्रतिशत राजीनामा दिने’ दाबी गरिएको सुनिन्छ।

अडिओ संवादमा आईजीपीको सम्भावित राजीनामामात्र होइन, प्रहरी नेतृत्वसँगको भेटघाट, अदालतको पेशी, गृहमन्त्रीसँग हुन सक्ने भेट र केही व्यक्तिको निगरानीसम्बन्धी प्रसङ्गसमेत समेटिएका छन्।

प्रहरी संगठनको उच्च नेतृत्वसँग सम्बन्धित संवेदनशील विषयमा एआईजी तहका अधिकारी र संगठनबाहिरका व्यक्तिबीच भएको भनिएको कुराकानीले प्रहरीभित्रको सूचना प्रवाह र बाह्य पहुँचबारे प्रश्न खडा गरेको छ।

संवादको सुरुवातमा भण्डारीले केसीलाई अभिवादन गर्दै आफू बिहानैदेखि विभिन्न ठाउँमा दौडधुपमा रहेको जानकारी गराउँछन्। कुराकानीकै क्रममा केसीले अदालतमा पेशी रहेको विषय उठाउँछन्। भण्डारीले पेशी अघिल्लो दिन नै सरिसकेको जवाफ दिएपछि संवाद प्रहरी नेतृत्व परिवर्तनको चर्चातर्फ मोडिन्छ।

त्यसक्रममा भण्डारीले ‘त्यो अघि चाहिँ भोलि १०० प्रतिशत राजीनामा दिने भन्ने भयो दाइ’ भनेको सुनिन्छ। उनको कुरा सुनेपछि केसीले सहमति जनाउँदै प्रतिक्रिया दिएको अडिओमा सुनिन्छ।

आईजीपीले राजीनामा दिने विषयमा यति निश्चित जानकारी भण्डारीले कहाँबाट पाए रु राजीनामाबारेको निर्णय भइसकेको थियो वा केवल अनुमानका आधारमा यस्तो दाबी गरिएको थियो रु यो संवादको महत्वपूर्ण पक्ष हो।

अडिओमा आईजीपी दानबहादुर कार्की र विश्व अधिकारीबीच भएको भनिएको भेटघाटको समयसमेत उल्लेख छ। भण्डारीले उनीहरू १६ : ५५ बजे भेट्न गएको र १७ : ५० बजे बाहिरिएको विवरण केसीलाई सुनाउँछन्। भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने आफूलाई जानकारी नभएको बताउँछन्।

त्यस्तै, गृहमन्त्रीसँग माननीयको भेट हुने सम्भावना र भोलिपल्ट बिहान ९ बजेको समयबारे पनि कुराकानी भएको सुनिन्छ। तर उक्त भेटको उद्देश्य र प्रहरी नेतृत्व परिवर्तनसँग त्यसको सम्बन्ध रहेको वा नरहेको विषय संवादबाट खुल्दैन।

अडिओको अर्को हिस्सामा आईजीपीको ह्वाट्सएप गतिविधि र केही व्यक्तिको निगरानी भइरहेको आशय व्यक्त गरिएको छ। भण्डारीले ‘नदेखिए पनि उहाँ निगरानीमा हुनुहुन्छ, भोलिसम्म आफैँ जानुहुन्छ’ भनेको सुनिन्छ। त्यसपछि राजन नामका व्यक्तिको गतिविधिबारे पनि उनीहरूबीच कुराकानी हुन्छ।

संवादको अन्त्यतिर भण्डारीले ‘यता सुधनसँग कुरा भइरहेको छ, त्यो बुझेर खबर गर्छु’ भन्दै केसीलाई जानकारी गराउने बताउँछन्। केसीले त्यसमा सहमति जनाएपछि कुराकानी टुङ्गिन्छ।

यो अडिओले प्रहरी संगठनको नेतृत्व परिवर्तनमा बाह्य व्यक्तिहरूको पहुँच र भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ। प्रहरी प्रमुखको राजीनामाजस्तो संवेदनशील विषयमा संगठनबाहिरका व्यक्तिलाई कसरी र कुन तहसम्म जानकारी थियो ? एआईजी तहका अधिकारीसँग त्यस्तो सूचना किन आदानप्रदान भइरहेको थियो रु प्रहरी नेतृत्वसँगको भेटघाट र राजनीतिक तहका संवादबारे भण्डारी कसरी जानकार थिए ?

अडिओमा सुनिएका संवादको स्वतन्त्र पुष्टि र सम्बन्धित व्यक्तिहरूको आधिकारिक धारणा सार्वजनिक हुन आवश्यक छ। अडिओको सत्यता, सन्दर्भ र त्यसमा व्यक्त गरिएका दाबीको यथार्थ छानबिनबिना कसैलाई दोषी ठहर गर्न मिल्दैन।

तर प्रहरी संगठनको नेतृत्व परिवर्तन राजनीतिक पहुँच, बाह्य दबाब र अपारदर्शी चलखेलबाट प्रभावित हुनु हुँदैन। प्रहरी नेतृत्वको नियुक्ति, निरन्तरता वा बहिर्गमन संस्थागत प्रक्रिया र कानुनी आधारमा हुनुपर्छ। सार्वजनिक भएको संवादले उठाएका प्रश्नको जवाफ प्रहरी नेतृत्व र सम्बन्धित निकायले दिनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार