२१ आश्विन २०८३, बुधबार

बजेटको ‘राजा’माथि भौतिकमन्त्री भाटको कटाक्ष



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लप्रति व्यंग्य गर्दै कटाक्ष गरेका छन्।

प्रदेश सरकार बजेट निर्माण र कार्यान्वयनको विषयमा विवादमा परिरहेका बेला मन्त्री भाटले सामाजिक सञ्जालमार्फत ‘राजा र रंक’ शीर्षकमा व्यंग्यात्मक कविता सार्वजनिक गर्दै अर्थमन्त्री मल्ललाई संकेत गर्दै आलोचना गरेका हुन ।

भाटले अर्थ मन्त्रालयसँग बजेटको चाबी र स्रोतको अधिकार रहेकाले अन्य मन्त्रालयका मन्त्रीहरू योजना बोकेर बजेट माग्न ‘ढोकामा लाइन बस्नुपर्ने’ अवस्था रहेको भन्दै व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्, ‘एउटा मन्त्रालयमा राजा जन्मिएछ, अर्थको मुकुट शिरमा सजिएछ। बाँकी मन्त्रीहरू रंक ठानिएछन्, बजेटका लागि ढोकामा लाइन बसेछन्।’

भौतिक पूर्वाधारमन्त्रीले सडक, पुल तथा खानेपानीलगायतका योजना लिएर आउने मन्त्रीहरू बजेटका लागि अर्थ मन्त्रालयमा निर्भर हुनुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्रीलाई ‘राजा’को उपमा दिएका छन् ।

उनले गणतन्त्र आए पनि बजेट बाँडफाँटमा ‘दरबारको व्यवहार’ कायम रहेको भन्दै प्रश्न गरेका छन्। कवितामा भनिएको छ, ‘गणतन्त्र आए पनि दरबार उस्तै, मुकुट फेरियो, व्यवहार उस्तै। मन्त्री धेरै, अधिकार एउटै, राजा एउटै रंक धेरै।’

भाटले बजेटको अधिकार अस्थायी भएको र जनताको मूल्याङ्कन स्थायी हुने चेतावनीसमेत दिएका छन्। उनले अन्तिममा लेखेका छन्, ‘बजेटको सिंहासन अस्थायी हो, जनताको अदालत स्थायी हो।’

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउन नसक्दा प्रदेश सरकारको कामकारबाही प्रभावित हुँदै आएको छ। बजेटका विषयमा सरकारभित्रै असन्तुष्टि बढिरहेका बेला भौतिक पूर्वाधारमन्त्री भाटको यो अभिव्यक्तिलाई अर्थ मन्त्रालयप्रति सार्वजनिक असन्तुष्टिका रूपमा हेरिएको छ।

मन्त्री भाट र अर्थमन्त्री मल्ल एउटै प्रदेश सरकारका मन्त्री भए पनि बजेट व्यवस्थापन र मन्त्रालयगत योजनाका विषयमा उनीहरूबीच देखिएको मतभेद पछिल्लो अभिव्यक्तिसँगै सार्वजनिक भएको हो।

सुदूरपश्चिममा नेकपा र एमालेको संयुक्त सरकार छ । भाट नेकपाबाट र मल्ल एमालेबाट मन्त्री छन् । सुदूरपश्चिमको बजेट आजै आउदै छ ।

यस्तो छ मन्त्री भाटको कविता

राजा र रंक

एउटा मन्त्रालयमा राजा जन्मिएछ,

अर्थको मुकुट शिरमा सजिएछ।

बाँकी मन्त्रीहरू रंक ठानिएछ्न,

बजेटका लागि ढोकामा लाइन बसेछन्।

राजासँग चाबी छ कोषको,

राजासँग शक्ति छ भ्रमको ।

अरू मन्त्री योजना बोकेर आउँछन्,

राजाको ढोकामा हात जोडेर फर्किन्छन्।

कसैको मन्त्रालय सडक माग्छ,

कसैको पुल, कसैको पानी,

राजा मुस्कुराउँदै भन्छन्

पहिले हेरौँ, कति छ खानी!

गणतन्त्र आए पनि दरबार उस्तै,

मुकुट फेरियो, व्यवहार उस्तै।

मन्त्री धेरै, अधिकार एउटै,

राजा एउटै रंक धेरै!

तर इतिहासले एउटा कुरा लेख्छ

राजा धेरै दिन राजा रहँदैन,

रंक सधैँ रंक रहँदैन।

बजेटको सिंहासन अस्थायी हो,

जनताको अदालत स्थायी हो।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार