१९ आश्विन २०८३, सोमबार

राणाको पक्राउ सूचना चुहावट आरोपमा सशस्त्र एआईजी दाहाल निलम्बित



काठमाडौ/ पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउसम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई निलम्बन गर्ने निर्णय गरेको हो । निर्णयसम्बन्धी जानकारी गृह मन्त्रालयमार्फत सशस्त्र प्रहरी मुख्यालयमा पठाइएको छ ।

गत साता पूर्वप्रधानन्यायाधीश राणालाई पक्राउ गरी टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको थियो । राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपुछ गर्ने तयारी रहे पनि उनी पक्राउ परेलगत्तै त्यससम्बन्धी सूचना सार्वजनिक भएको थियो ।

राणालाई पक्राउ गरेपछि एआईजी दाहाल पनि उनलाई भेट्न टेकु पुगेका थिए । दाहाल राणाका नातेदारसमेत हुन् । गृह मन्त्रालयले पक्राउको संवेदनशील सूचना सार्वजनिक हुनुअघि नै दाहाल किन राणालाई भेट्न पुगे भन्ने विषयमा समेत सोधपुछ गरेको थियो ।

दाहालले पारिवारिक सम्बन्धका कारण राणा पक्राउ परेको जानकारी पाएपछि भेट्न गएको जवाफ दिएको स्रोतको भनाइ छ । तर, राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले भने पक्राउसम्बन्धी गोप्य सूचना दाहालबाटै चुहिएको दाबी गर्दै आएको थियो ।

सरकारले विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारो पार्न खोजेको आरोप लगाउँदै राणालाई गोप्य रूपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको बताइएको छ । पक्राउको सूचना सार्वजनिक भएपछि सुरक्षा संयन्त्रभित्रैबाट सूचना चुहावट भएको विषयमा सरकारले छानबिन थालेको थियो ।

दाहाल निलम्बनमा परेको विषय राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले समेत पुष्टि गरेका छन् । उनका अनुसार दाहाललाई निलम्बन गर्ने विषय यसअघि नै उठेको भए पनि कानुनी प्रक्रिया पूरा गर्दा केही ढिला भएको हो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार