९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री बालेनले भने-पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धको बाटोमा विश्व हिँडोस्’



न्युयोर्क/ प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको भन्दै जलवायु संकट समाधानका लागि विश्व समुदाय गम्भीर भएर अघि बढ्नुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०।१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको बताए। उनले नेपालका लागि जलवायु विपद् मानवीय संकट मात्र नभई विकासकै आपत्काल भएको बताए।

प्रधानमन्त्री शाहले जलवायु विपद्को सामना गर्न नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरे। यसमार्फत भूउपग्रहबाट प्राप्त तथ्याङ्क आदानप्रदान, जोखिमयुक्त हिमतालको संयुक्त अनुगमन, पूर्वचेतावनी प्रणालीको विकास तथा विपद्का बेला सीमापार सहयोग गर्न सकिने उनले बताए।

हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिसको जीवन पानी, कृषि, पारिस्थितिक प्रणाली र जीविकोपार्जनसँग जोडिएको बताउँदै उनले हिमालयलाई कुनै एउटा देशको मात्र विषयका रूपमा हेर्न नहुने बताए। हिमालय पृथ्वीको जीवन धान्ने प्रणालीको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई विश्वकै लागि चेतावनीका रूपमा लिनुपर्ने बताए। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी स्थानीय त्रासदी मात्र नभएको भन्दै उनले जलवायु परिवर्तनले सीमा नचिन्ने बताए।

‘हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन्,’ उनले भने, ‘जलवायु परिवर्तनले सीमा चिन्दैन।’

उनले नेपाल अहिले पुनरुत्थान र पुनर्निर्माणको ठूलो चुनौतीमा रहेको बताए। जलवायु विपद्पछि गरिब देशलाई थप ऋणको बोझमा पार्नेभन्दा पर्याप्त अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनले बताए।

जलवायु न्याय पैसाको विषय मात्र नभएको उनले बताए। यसको अर्थ जलवायु परिवर्तनबाट भएको क्षतिको भार कसले बेहोर्ने र प्रभावित मानिसको आवाज कत्तिको सुनिन्छ भन्ने पनि भएको उनले बताए।

प्रधानमन्त्री शाहले विश्वमा युद्धका लागि हतियार सहजै पुग्ने तर किसानले समयमा मल र इन्धन नपाउने अवस्था रहेको भन्दै अन्तर्राष्ट्रिय प्रणालीमाथि प्रश्न उठाए। ‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ,’ उनले भने।

साना र गरिब देशको आवाज पनि विश्वका निर्णय प्रक्रियामा समान रूपमा सुनिनुपर्नेमा उनले जोड दिए। नेपाल बहुपक्षीयतामा विश्वास गर्ने भन्दै उनले न्यायपूर्ण विश्वव्यवस्था निर्माणका लागि संयुक्त राष्ट्रसङ्घलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

नेपालले वन संरक्षण, स्वच्छ ऊर्जा, विद्युतीय यातायात र जलवायु अनुकूलनका क्षेत्रमा काम गरिरहेको बताउँदै प्रधानमन्त्री शाहले अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने नभई पहिल्यै तयारी गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व शान्ति र कल्याणको कामना गरे। उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।’


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार