३ आश्विन २०८३, शनिबार

वीरगञ्जमा नौ दलीय अग्रगामी मोर्चाको बृहत् कार्यकर्ता भेला



काठमाडौ/ नौ दलीय अग्रगामी मोर्चाले मधेश प्रदेशमा संगठन विस्तार र राजनीतिक परिचालनलाई तीव्रता दिने उद्देश्यले शनिबार वीरगञ्जमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।

‘संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने नारासहित मोर्चाको मधेश प्रदेश समन्वय समितिको आयोजनामा वीरगञ्जस्थित टाउन हलमा कार्यक्रम हुन लागेको हो।

कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ। भेलामा मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार, कार्यकर्ता अभिमुखीकरण तथा आगामी राजनीतिक गतिविधिका विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

मधेश प्रदेशमा मोर्चाको संगठनात्मक आधार विस्तार गर्नुका साथै आबद्ध दलका नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई पनि भेलाले प्राथमिकता दिने बताइएको छ।

मोर्चाले भेलामार्फत आफ्नो राजनीतिक एजेन्डा, संगठनात्मक संरचना र आगामी कार्यदिशालाई स्थानीय तहसम्म पुर्‍याउने तयारी गरेको छ। साथै मधेश प्रदेशमा राजनीतिक परिचालनलाई थप सशक्त बनाउने रणनीतिबारे पनि छलफल हुने जनाइएको छ।

भेलामा रौतहट, बारा र पर्साका हजारौँ नेता, कार्यकर्ता तथा समर्थकको सहभागिता रहने आयोजकले जनाएको छ।

यसअघि भदौ २७ गते जनकपुरधाममा मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेतासहित पाँच जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार