सरकारले प्रस्ताव गरेका १३ राजदूत को हुन् ?
काठमाडौ/ सरकारले विभिन्न १३ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार गरिएको सिफारिसमा कूटनीति, सुरक्षा, अर्थतन्त्र, विकास, प्राज्ञिक तथा सार्वजनिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरू छन्। प्रस्तावित राजदूतहरूको संक्षिप्त परिचय यस्तो छ।
भारत : डा. निश्चलनाथ पाण्डे
वैदेशिक नीति तथा दक्षिण एसिया मामिलाका प्राज्ञिक व्यक्तित्व पाण्डे हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक छन्। उनले परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगको सल्लाहकारका रूपमा काम गरिसकेका छन्।
चीन : डा. कल्याणराज शर्मा
नेपाल–चीन सम्बन्ध, अर्थतन्त्र र व्यापारका जानकार शर्मा फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डशिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका अध्यक्ष हुन्।
अमेरिका : चिरनजंग थापा
राष्ट्रिय सुरक्षा, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय मामिलाका विज्ञ थापासँग दुई दशकको अनुभव छ। उनले कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्। अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशमा काम गरिसकेका छन्।
बेलायत : पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका राणा २०१२ देखि २०१५ सम्म प्रधानसेनापति थिए। शान्ति प्रक्रियाका क्रममा पूर्वमाओवादी लडाकुको नेपाली सेनामा समायोजन तथा २०७२ को भूकम्पपछिको उद्धारमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
जापान : जिग्यान कुमार थापा
नेपाल–जापान सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यमा लामो अनुभव भएका थापा सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा आबद्ध छन्। उनले नेपाल–जापान उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय कार्यक्रमको समन्वय गर्दै आएका छन्।
इजरायल : सुरेशकुमार कर्ण
सूचना प्रविधि, बैंकिङ र आर्थिक नीतिका जानकार कर्णसँग तीन दशकभन्दा बढी कार्यकारी अनुभव छ। उनले कुमारी बैंक र नेपाल बैंकमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। क्यान महासंघको अध्यक्षसमेत भइसकेका कर्ण नेपालको पहिलो राष्ट्रिय आईटी नीति निर्माणमा समेत संलग्न थिए।
स्पेन : प्राप्ति शेरचन
अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रमा १५ वर्षको अनुभव भएकी शेरचन सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गत इन्टरनेशनल फाइनान्स कर्पोरेसनमा कार्यरत छन्। उनले एसिया र अफ्रिकामा महिला तथा वित्तीय समावेशीकरणसम्बन्धी कार्यक्रमको नेतृत्व गरेकी छन्।
जर्मनी : शारू जोशी
वैदेशिक रोजगार, आप्रवासन सुशासन र लैंगिक समानताका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी जोशीले नेपालको वैदेशिक रोजगारसम्बन्धी कानुनी तथा नीतिगत संरचना निर्माणमा योगदान पुर्याएकी छन्। उनी लामो समय संयुक्त राष्ट्रसंघीय निकायमा समेत कार्यरत थिइन्।
ओमान : डा. पद्माक्षी राणा
दिगो विकास, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा सक्रिय राणा सन् २०२२ देखि इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सह-संस्थापक छन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्वसम्बन्धी विद्यावारिधि गरेकी छन्।
मलेसिया : चूडामणि खरेल
शिक्षा, मानविकी, कानून तथा सार्वजनिक प्रशासनको अनुभव भएका खरेल हाल नेपाल योग खेलकुद संघका महासचिव छन्। यसअघि नेपाल स्केटिङ तथा स्केटबोर्ड संघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत विभिन्न जिम्मेवारीमा रहेका थिए।
दक्षिण कोरिया : प्रा. डा. सङ्गम श्रेष्ठ
जलवायु उत्थानशीलता, जलसुरक्षा र अन्तर्राष्ट्रिय सहकार्यका विज्ञ श्रेष्ठ एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक तथा पूर्व डिन हुन्। उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै अनुसन्धान तथा नीति निर्माणका क्षेत्रमा काम गरेका छन्।
श्रीलंका : डा. मंचल झा
सुशासन तथा सार्वजनिक नीतिकी विज्ञ झा सत्य निरूपण तथा मेलमिलाप आयोगकी पूर्वआयुक्त हुन्। संक्रमणकालीन न्याय, महिला, शान्ति तथा सुरक्षा र सुशासनका क्षेत्रमा उनको अनुभव छ।
साउदी अरेबिया : गिरीबहादुर सुनार
समाजशास्त्री तथा विकास विज्ञ सुनारसँग अन्तर्राष्ट्रिय विकास, सामाजिक संरक्षण, लैंगिक समानता र सामाजिक समावेशीकरणका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव रहेको उल्लेख छ। उनले विश्व बैंक र एसियाली विकास बैंकका विभिन्न पूर्वाधार तथा




