मुख्यमन्त्री भट्टले बुधबार दिउँसो १ बजे विश्वासको मत लिने
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि आवश्यक निर्णय गर्न नेकपा संसदीय दलको बैठक बससेका थियो।
तर बैठकमा तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट नेकपामा आएका छ जना प्रदेशसभा सदस्य भने सहभागी भएनन् ।
नेकपाका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले नेकपाका सबै प्रदेश सभा सदस्य विश्वासको मत दिन आउने विश्वास व्यक्त गरे ।
बैठकमा नेकपाका प्रमुख सचेतकसमेत रहेका खुसीराम चौधरी, प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी, लक्ष्मण चौधरी, टीका थापा र पूर्वराज्यमन्त्री इन्दिरा गिरी अनुपस्थित भए ।
संसदीय दलको बैठक सुरु हुनुअघि ती छ सांसदले सामूहिक तस्बिर खिचेर आफूहरू एकै ठाउँमा रहेको सन्देश दिएका थिए । तत्कालीन नाउपाबाट प्रदेशसभा सदस्य रहेका पूर्वमन्त्री कैलाश चौधरी भने नेकपा संसदीय दलको बैठकमा सहभागी भएका छन्।
मुख्यमन्त्री भट्टले बुधबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि संसदीय दलको बैठकले निर्णय गरी सांसदहरूलाई ह्विप जारी गर्ने तयारी छ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
हाल नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट थप तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी रहेको छ।




