खगराज भट्ट सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्री नियुक्त
धनगढी / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रवार भट्टलाई प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन्। भट्टले शुक्रवार बिहान प्रदेश प्रमुखको कार्यालय धनगढी पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए।
भट्टको दाबीलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए। दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रवार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन्। मुख्यमन्त्री भट्टसँगै नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको पनि शपथ गराउने कार्यक्रम तय भएको छ। शपथग्रहण शुक्रवार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने जनाइएको छ।
भट्टको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठनसँगै प्रदेश सरकार सञ्चालनको आगामी कार्यदिशा र मन्त्रिपरिषद् विस्तारलाई चासोका साथ हेरिएको छ।




