नयाँ सरकार गठनका लागि भोलि ११ बजेसम्मको समय
धनगढी / सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार शाहको राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।

विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय दिइएको उल्लेख छ।
सत्ता समीकरणमा भएको सहमतिअनुसार अब नेकपा र नेकपा (एमाले) को समर्थनमा नेकपाका संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी छ। नेकपाका प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पक्षबाट सरकार गठनका लागि दाबीपत्र तयार रहेको बताएका छन्।
शाहले भने– पदभन्दा प्रदेशको स्वाभिमान ठूलो

सत्ता समीकरण परिवर्तनसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ प्रदेश प्रमुख मियाँसमक्ष राजीनामा बुझाएका हुन्। त्यसअघि प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा भएका काम तथा उपलब्धिबारे जानकारी गराएका थिए।
सम्बोधनका क्रममा शाहले पद्धति, प्रक्रिया र लोकतान्त्रिक संस्कारलाई मर्न दिन नहुने बताए। सुदूरपश्चिमको स्वाभिमान, संवैधानिक मर्यादा र जनताको अटल विश्वासभन्दा मुख्यमन्त्रीको पद ठूलो नभएको उनको भनाइ थियो।
उनले आफू कुर्सीका लागि जे पनि गर्ने राजनीतिक संस्कारबाट हुर्किएको व्यक्ति नभएको दाबी गरे।
सत्ता साझेदार दलले बजेट निर्माणको सम्पूर्ण प्रक्रियामा सहभागी भएर अन्तिम समयमा बजेटको विरोध गर्ने र सरकार पनि नछाड्ने दोहोरो चरित्र देखाएको आरोप शाहले लगाए। यस्तो प्रवृत्तिले सरकारलाई असफल बनाउने मात्र नभई प्रदेशलाई नै अनिश्चितताको अँध्यारो सुरुङतर्फ धकेल्ने उनको भनाइ थियो।
नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार राजीनामा दिएका शाह कांग्रेस संसदीय दलका नेतासमेत हुन्।
बजेट विवादपछि सत्ता समीकरण परिवर्तन
सत्ता साझेदार नेकपा (एमाले) ले बजेटप्रति असहमति जनाउँदै सरकारबाट बाहिरिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। एमाले सरकारबाट बाहिरिएसँगै सुदूरपश्चिम प्रदेश अहिले बजेटविहीन अवस्थामा पुगेको छ।
करिब दुई वर्षदेखि मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका शाहले यसअघि पनि यही प्रदेशसभाको कार्यकालमा एक वर्ष चार महिना मुख्यमन्त्रीका रूपमा काम गरेका थिए।
अब प्रदेश प्रमुखले दिएको समयभित्र नेकपा र एमालेको समर्थनसहित खगराज भट्टले सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।




