धनगढी उपमहानगरपालिकाको सेवा अब डिजिटल माध्यमबाट
धनगढी/ कैलालीको धनगढी उपमहानगरपालिकाले सार्वजनिक सेवालाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले एकीकृत डिजिटल प्रणाली कार्यान्वयनको सुरुआत गरेको छ।
सेवाप्रवाहलाई ‘पेपरलेस’ बनाउने लक्ष्यसहित उपमहानगरपालिकाले एकीकृत डिजिटल प्रणाली विकासको पहिलो चरणको काम सम्पन्न गरेको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा विकसित गरिएको उक्त प्रणालीले प्रशासनिक कार्यलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ। एउटै डिजिटल प्लेटफर्मभित्र विभिन्न सफ्टवेयरलाई एकीकृत गरिएकाले नागरिकका विवरण सुरक्षित रूपमा एउटै प्रणालीमा रहने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुख गोपाल हमालले डिजिटल प्रणाली कार्यान्वयनसँगै सेवाग्राहीले सामान्य सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने बताए । उनका अनुसार प्रविधिमा अभ्यस्त नागरिकले घरबाटै अनलाइन माध्यमबाट सेवा लिन सक्नेछन् भने डिजिटल प्रविधिमा सहज नभएका नागरिकका लागि कार्यालयबाट प्रत्यक्ष सेवा लिने व्यवस्था यथावत् रहनेछ।
महानगरको सेवा सहज रूपमा घरबाटै लिन मिल्ने गरी डिजिटल प्रणाली विकास गरेका छौँ। प्रविधिमा अभ्यस्त नागरिकले कार्यालय आइरहनु पर्दैन, तर आवश्यक परेका नागरिकले पहिलेजस्तै कार्यालयमा आएर सेवा लिन सक्ने व्यवस्था पनि कायम छ, नगर प्रमुख हमालले भने।
उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले प्रणालीको प्रस्तुतीकरण गर्दै यसले सेवा प्रवाहलाई सहज बनाउनुका साथै जनसङ्ख्या, अपाङ्गता भएका व्यक्तिको अवस्था तथा करदाताको एकीकृत विवरण तयार गर्न सहयोग पुग्ने बताए । तथ्याङ्कमा आधारित नीति तथा योजना निर्माण गर्न पनि प्रणाली उपयोगी हुने उनको भनाइ छ।
पहिलो चरणमा १९ वटै वडाका सचिवलाई तालिम प्रदान गर्ने, नागरिक ई–केवाइसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ तथा डिजिटल सेवा सञ्चालनसम्बन्धी क्षमता विकास गर्ने कार्यक्रम रहेको जनाइएको छ। डिजिटल साक्षरता कम भएका सेवाग्राहीलाई लक्षित गर्दै उपमहानगर कार्यालयमै सहायता कक्ष स्थापना गरिनेछ। त्यहाँका कर्मचारीले सेवाग्राहीको विवरण डिजिटल प्रणालीमा दर्ता गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यस प्रणालीमार्फत जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा घरमै बसेर अनलाइनमार्फत लिन सकिने उपमहानगरपालिकाले जनाएको छ।
दोस्रो चरणमा ई–सिग्नेचर मोड्युल, डिजिटल अभिलेख व्यवस्थापन, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन, कार्यालय टिप्पणी लेखन तथा व्यवस्थापन, डिजिटल भुक्तानी र राजस्व सङ्कलन, विकास निर्माण अनुगमन, सार्वजनिक सूचना, विपद् व्यवस्थापन, डेटा दृश्यावलोकन तथा डेटा सुरक्षा प्रणालीसमेत विकास गरिने योजना रहेको जनाइएको छ।




