नेपाल–चीन पर्यटन सहकार्य थप सुदृढ हुने विश्वास
काठमाडौं / वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भले नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
चीन–नेपाल अन्वेषण यात्रा अन्तर्गत आयोजित अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भका अवसरमा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले उक्त धारणा व्यक्त गरेका हुन्।
सिजाङ पर्यटन संस्कृति उद्योग समूह, इरिस पर्यटन संस्कृति उद्योग समूह, नेपाल पाण्डा इन्टरनेशनल ट्राभल तथा साउथ एसिया नेटवर्क टिभी (साउथ एसिया नेटवर्क टेलिभिजन) को सहआयोजनामा भएको कार्यक्रममा नेपाल र चीनका सरोकारवालाहरूले दुई देशबीचको पर्यटन आदानप्रदानमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै हुवाङ लेईले उक्त पर्यटन परियोजनामार्फत मासिक करिब छ हजार तथा वार्षिक ७२ हजारदेखि एक लाख २० हजारसम्म चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको बताए।
उनले चिनियाँ पर्यटकको आगमन बढेमा होटल, यातायात, कृषि तथा हस्तकला लगायतका क्षेत्रमा रोजगारी सिर्जना हुने उल्लेख गरे। पर्यटनलाई केवल व्यवसायका रूपमा नभई राष्ट्र निर्माणको आधारका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।
हुवाङले चिनियाँ पर्यटकलाई लक्षित गर्दै काठमाडौं, नगरकोट, चितवन र पोखरालाई समेटेर सातदिने पर्यटन प्याकेज सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
नेपाल पाण्डा इन्टरनेशनल ट्राभल एजेन्सीका शैलेन्द्र ढुंगेल तथा हिमालयन एयरलाइन्सका अध्यक्ष झाउ एनयोङलगायत वक्ताहरूले मौसमी प्रभावका कारण पर्यटक आगमनमा उतारचढाव आउने भएकाले चारै ऋतुमा पर्यटक भित्र्याउने रणनीतिअनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाल र चीनबीच पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु गरिएको उक्त परियोजनाको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।




