२३ बैशाख २०८३, बुधबार

एमालेको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक गुण्डुमा




काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण भेटघाट बन्द रहेको भनिएकै समयमा सुदूरपश्चिम प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ ।

यसक्रममा बुधबार बिहान ११ बजे ओली निवास गुण्डुमा बोलाइएको एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक हुने भएको छ ।

सो बैठकको मुख्य एजेण्डा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व परिवर्तन रहेको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एमालेका ११ जना रहेका छन् ।

हालका संसदीय दलका नेता राजेन्द्रसिंह रावलप्रति पार्टी पंक्ति सन्तुष्ट नरहेकोले विवाद मिलाउन बैठक बोलाइएको बताइएको छ ।

गुण्डुमा ओलीकै आथित्यतामा बैठक हुन थालेको हो ।

सुत्रका अनुसार बैठकमा सहभागी हुन अधिकांश प्रदेश सभा सदस्यहरू काठमाडौँ पुगिसकेका छन् ।

सो बैठकले दलको नेता छान्ने चर्चा पनि छ । दलको नेताका लागि हालका उपनेता सन्तोष शर्मा थापा , चक्र मल्ल , वीरबहादुर थापा र धर्मराज पाठक दावेदार रहेको बुझिएको छ ।

शर्मा र मल्ल एमालेका केन्द्रीय सदस्य हुन् । रावल भने ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजीत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार