‘नेपाली हेरिटेज डे’ बारे ब्रिटिश कोलम्बियाका मन्त्री, सांसद र मेयरको चासो

काठमाडौ/ नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया (एनसीएसवीसी) को पहलमा सन् २०२६ मे २९ लाई ‘नेपाली हेरिटेज डे’ का रूपमा मनाउने तयारीले क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा सकारात्मक माहोल सिर्जना गरेको छ । सो प्रस्तावप्रति प्रान्तीय मन्त्री, सांसद तथा सरीका सहरका मेयरले समेत उत्साहजनक समर्थन जनाएका छन् ।
शनिबार मुस्लिम समुदायको इद पर्वका अवसरमा भएको भेटघाटका क्रममा मन्त्री, सांसद तथा मेयरले मे २९ लाई नेपाली हेरिटेज डे का रूपमा मनाउने विषयमा गहिरो चासो व्यक्त गरेको एनसीएसवीसीका अध्यक्ष राजू भट्टराईले जानकारी दिए । उनीहरूबाट यस विषयमा थप छलफलका लागि कार्यालयमा आउन निमन्त्रणा समेत प्राप्त भएको उनले बताए ।
मे २९ विश्वकै सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण भएको ऐतिहासिक दिन भएकाले सोही अवसर पारेर ‘नेपाल डे’ अर्थात ‘नेपाली हेरिटेज डे’ मनाउन लागिएको हो ।
अध्यक्ष भट्टराईले खनिजमन्त्री जग्रुप वरार, उच्च शिक्षा तथा भविष्यका सीपसम्बन्धीमन्त्री जेसिस सुन्नार, रोजगारी तथा आर्थिक वृद्धिमन्त्री रवि काहोलोन, सांसद अम्ना शाह, गेर्री वाग तथा मेयर ब्रेन्डा लगसँग मुस्लिम समुदायको इद पर्वका अवसरमा नेपाली हेरिटेज डे मनाउने विषयमा छलफल गरे ।

ब्रिटिश कोलम्बिया प्रान्तीय सरकारले एनसीएसवीसीसँगको सहकार्यमा मे २९ लाई नेपाली हेरिटेज डे घोषणा गरिसकेको छ । बहुसांस्कृतिक पहिचान बोकेको सो प्रान्तमा विभिन्न देशका नागरिकको बसोबास रहेको सन्दर्भमा यो निर्णयलाई नेपाली समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ ।
नेपाली समुदायका अनुसार यो घोषणा नेपाली क्यानाडालीहरूको सांस्कृतिक, सामाजिक तथा आर्थिक योगदानको औपचारिक सम्मान हो । साथै यसले नेपाल र विश्वभर रहेका नेपालीका लागि गौरवको क्षण सिर्जना गरेको छ । हेरिटेज डे मार्फत नेपाली संस्कृति, परम्परा र पहिचानले अन्तर्राष्ट्रिय मान्यता पाउने विश्वास लिइएको छ ।
यो दिवस पहिलोपटक ब्रिटिश कोलम्बियाको लेजिस्लेटिभ असेम्ब्लीको ‘हल अफ अनर’ मा औपचारिक रूपमा मनाइनेछ । एनसीएसवीसीले कार्यक्रमलाई ऐतिहासिक बनाउन सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता, सुझाव र सहयोगका लागि आह्वान गरेको छ ।
यस घोषणाले नेपाली समुदायलाई प्रान्तीय स्तरमा आधिकारिक मान्यता प्रदान गर्नेछ भने सरकारसँगको संवाद, नीति निर्माणमा पहुँच तथा सामुदायिक सहयोगका अवसरहरू विस्तार हुने अपेक्षा गरिएको छ । साथै, क्यानडामा हुर्किएका नेपाली युवामा आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व बढ्ने विश्वास गरिएको छ ।
एनसीएसवीसीका अनुसार ‘नेपाली हेरिटेज डे’ ले नेपालको संस्कृति, पर्यटन र अन्तर्राष्ट्रिय छविलाई समेत प्रवर्द्धन गर्नेछ । यसले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाउँदै भविष्यमा व्यापार, पर्यटन, शिक्षा तथा सांस्कृतिक आदान–प्रदानका नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको छ ।
संस्थाले ‘नेपाल डे’ केवल उत्सव मात्र नभई जिम्मेवारी पनि भएको उल्लेख गर्दै नेपाली समुदायको योगदानको मान्यता र आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धताको संकेतका रूपमा यसलाई लिएको जनाएको छ ।




