विश्व मौसम दिवसः विपद् पूर्व तयारीमा जुट्न आग्रह

अत्तरिया/ विश्व मौसम दिवसका अवसरमा सोमबार कैलालीको अत्तरियामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् पूर्व तयारीमा जुट्न सबै सरोकारवाला पक्षलाई आग्रह गरे । प्रविधिको विकाससँगै अहिले विपद् आउनुअघि नै सूचना प्राप्त हुने अवस्था बनेको बताउँदै उनले विशेषगरी ग्रामीण भेगका नागरिकले पूर्व सतर्कता अपनाउन जरुरी रहेको बताए । मौसम सक्रिय हुने समय नजिकिँदै गएकाले पूर्वसूचना प्रणालीलाई थप सक्रिय बनाउन आवश्यक रहेको उनले उल्लेख गरे ।
विगतमा कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा पर्दै आएको बताउँदै मन्त्री सार्कीले आगामी मनसुनजन्य विपद् लक्षित गरी समयमै तयारी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।
सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले विपद् उत्थानका लागि सबै पक्षलाई सबल बनाउन आवश्यक रहेको बताए । विश्वभर विपद्जन्य घटना बढ्दै गएकाले जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग गर्दै समयानुकूल रणनीति अपनाउनुपर्ने उनको भनाइ थियो। चुरे क्षेत्रबाट बग्ने नदीका कारण बस्ती डुबानमा पर्ने समस्या दोहोरिँदै आएकाले जोखिम क्षेत्रहरूमा लगानी बढाउन प्रदेशका मन्त्रालयहरूलाई उनले आग्रह गरे।

पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयाप्रसाद शर्माले प्रविधिको प्रयोगबाट विपद्बाट जोगिन सकिने बताउँदै सबै पक्षलाई सचेत रहन आग्रह गरे । दोदा नदीका कारण गत वर्ष दुई सय परिवार प्रभावित भएको स्मरण गराउँदै उनले आगामी वर्षका लागि डुबान नियन्त्रणका विभिन्न काम गरिएको बताए। विपद् प्रभावित समुदायको सहयोगमा सक्रिय हुन संघसंस्थाहरूलाई समेत उनले आग्रह गरे।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया, कैलालीका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले विश्व मौसम सङ्गठनले उपलब्ध गराउने सूचनाबारे जनचेतना फैलाउन सुदूरपश्चिममा पनि विश्व जलवायु दिवस मनाउन थालिएको बताए। उनका अनुसार प्रदेशका ८८ वटै स्थानीय तहमा बाढीसम्बन्धी जानकारीका लागि ३४ केन्द्र र मौसमसम्बन्धी जानकारीका लागि ७६ केन्द्र स्थापना गरिएको छ। तर ती सबै केन्द्रलाई स्वचालित बनाउन नसकिएको बताउदै उनले आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग आग्रह गरे ।
उनले बाढी तथा नदीसम्बन्धी जोखिमबारे जानकारी लिन ११५५ नम्बरमा फोन गर्न सकिने बताउनुभयो। आगामी वर्षदेखि मोबाइलमा घण्टी बज्ने गरी पूर्वसूचना दिने प्रणाली विकासको तयारी भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा विपद् सम्पर्क व्यक्ति जनकबहादुर कुँवरले विपद् व्यवस्थापन तथा पूर्वसूचना प्रणालीमा प्रदेश सरकारले गरेका प्रयासबारे प्रस्तुति दिएका थिए। प्राक्टिकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्रबहादुर वमले जोखिममा रहेका समुदायको जीवनस्तर सुधारका लागि संस्थाले गरेका कार्यबारे जानकारी गराए ।
यसैगरी, निड्स नेपालका इश्वरी उपाध्यायले विपद् पूर्वतयारी, द्रुत प्रतिकार्य तथा पूर्वलाभसम्बन्धी प्रस्तुति दिनुभएको तथा एनएनएस डब्लुएका कार्यकारी प्रमुख अशोककुमार जैरुले विपद् व्यवस्थापनका असल अभ्यासबारे जानकारी गराएका थिए ।





