९ चैत्र २०८२, सोमबार

विगतबाट सिकेर रास्वपाले सरकार चलाउँछ डा. जोशी





धनगढी/ डडेल्धुराको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्दै नेपाली कांग्रेसको ३४ वर्ष पुरानो किल्ला भत्काउन सफल डा. ताराप्रसाद जोशीले विगतका कमजोरीबाट पाठ सिकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने बताएका छन्। २०४८ देखि २०७९ सम्म लगातार सात पटक कांग्रेसले जित्दै आएको सो क्षेत्रमा परिवर्तनको सन्देशसहित उदाएका जोशी अहिले चर्चाको केन्द्रमा छन्।

अनुमोदनसँग कुराकानी गर्दै उनले बाहिर फैलाइएका भ्रमभन्दा फरक रास्वपा स्पष्ट रूपमा गणतन्त्र, सुधारिएको संघीयता र धर्मनिरपेक्षताको पक्षमा रहेको बताए। “हामी विगतका अस्थिर र अस्वाभाविक राजनीतिक अभ्यासबाट सिकेर जनताको विश्वास जित्ने गरी सरकार चलाउनेछौं,” उनले विश्वासका साथ भने।

उनले नयाँ सरकारको प्राथमिकता जनतालाई प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै युवा बेरोजगारी समाधान र पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइ रोक्न गाउँमै उत्पादनमूलक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। “गाउँमै रोजगारीको वातावरण बनाइएन भने विकासको बहस अपूर्ण रहन्छ,” उनको भनाइ थियो।

सुदूरपश्चिमको समग्र विकासका सन्दर्भमा उनले कृषि, वनपैदावार र जलस्रोतको उचित सदुपयोग अपरिहार्य रहेको बताए। पश्चिम सेती जलविद्युत आयोजना निर्माणलाई गति दिनुपर्ने, साथै प्रत्येक पालिकामा ‘एक पालिका–एक उत्पादन’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा उनले राखे। सूचना प्रविधिको विस्तारमार्फत पनि युवालाई स्वदेशमै अवसर दिन सकिने उनको विश्वास छ।

भारतसँग पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सहमति भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन हुन नसकेकोतर्फ ध्यानाकर्षण गर्दै उनले अब यसलाई या त पूरा गर्न वा नयाँ ढाँचामा अघि बढाउन ढिलाइ गर्न नहुने बताए। “दीर्घकालीन रूपमा अल्झाइराख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उनले स्पष्ट पारे।

राजनीतिमा लामो अनुभव बोकेका जोशीलाई सुदूरपश्चिममा बौद्धिक, विकासोन्मुख र उद्यमशील नेताका रूपमा हेरिन्छ। नेकपा (एमाले) मा लामो समय सक्रिय रहँदा पनि उनको क्षमताको उचित मूल्यांकन हुन नसकेको चर्चा चल्दै आएको थियो। अन्ततः स्वतन्त्र धार हुँदै रास्वपामा समाहित भएका उनी यसपटक विजयी बने।

राजनीतिमा प्रवेशको आफ्नो प्रेरणा सम्झँदै उनले गरिबी र असमानता अन्त्य गर्न लोकतान्त्रिक परिवर्तन आवश्यक ठानेर युवावस्थामै आन्दोलनमा होमिएको बताए। भारतको जवारलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक सम्बन्धमा विद्यावारिधि गरेका जोशी राज्यको आन्तरिक तथा कूटनीतिक क्षमता सुदृढ बनाउनुपर्नेमा जोड दिन्छन्।

उद्यमशील सोचका धनी जोशीले आफ्नै नेतृत्वमा स्थापना गरिएको फारवेस्ट एग्रो जाइन्टमार्फत कृषि उत्पादन प्रशोधनको पहल अघि बढाएका छन्। डडेल्धुरामा सोया, तेल, दूध, साबुनलगायत उत्पादनको परीक्षण सुरु भएको छ भने अजयमेरु गाउँपालिकामा अनार खेती विस्तारको अभियान पनि चलाइएको छ। यस्ता पहलले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने र युवालाई गाउँमै रोक्ने आधार तयार पार्ने उनको विश्वास छ।

यस निर्वाचनमा उनले नेपाली कांग्रेसका नैनसिंह महरलाई ७ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै १९ हजार १३१ मतसहित विजय हासिल गरे। लामो समयसम्म एउटै दलको पकडमा रहेको डडेल्धुरामा आएको यो परिवर्तनलाई मतदाताले नयाँ आशा र विश्वासको संकेतका रूपमा लिएका छन्। एमालेका उम्मेदवार चक्र स्नेहीको भने जमानतजफत भएको छ ।

डडेल्धुराबाट २०४८ देखि २०७९ सम्म लगातार सातपटक कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जित्दै आएका थिए ।

जोशीले प्रदेश सभा सदस्य हुँदा सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री पद अस्वकीकार गरेका थिए । यससपटक भने आफूलाई जिम्मेवारी दिए मन्त्री हुने तर त्यसका लागि दौडधुप नगरेको पनि उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार