८ चैत्र २०८२, आईतवार

जातीय विभेद अन्त्य गर्न एकजुट होऔ : पूर्वमन्त्री विक



सुखड/ दलित जागरण अभियान कैलालीको आयोजनामा घोडाघोडी नगरपालिका–१, सुखडमा शनिबार ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइएको छ ।

जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ” भन्ने मूल नाराका साथ आयोजित सो विशेष समारोह पूर्वमन्त्री एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी विकको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री विकले नेपालको संविधानले जातीय आधारमा हुने सबै प्रकारका विभेदलाई निषेध गरेको भए पनि व्यवहारमा अझै कतिपय चुनौतीहरू कायमै रहेको बताइन ।

उनले सामाजिक न्याय र समानताका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै नागरिक स्तरमा चेतनाको विकास हुनु अपरिहार्य रहेको उल्लेख गरिन । दलित र उत्पीडित समुदायको उत्थानका लागि राज्य र समाजका हरेक अङ्गले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा संविधानसभा सदस्य हरि श्रीपाइली, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य खुशीराम चौधरी तथा प्रदेश सभा सदस्य ललिता सुनारले जातीय विभेद सामाजिक कलङ्क भएको बताउँदै यसको अन्त्यका लागि साझा आन्दोलनको आवश्यकता रहेको औल्याए । त्यस्तै, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार र कैलालीका शाखा अधिकृत दिवानीराम लोहारले पनि जातीय विभेद न्यूनीकरणका लागि नीतिगत र प्रशासनिक सुधारका पक्षमा आफ्नो धारणा राखे ।

कार्यक्रमको औपचारिक सत्र सुरु हुनुअघि विभिन्न सरोकारवाला र सामाजिक अभियन्ताहरूको सहभागितामा विभेदविरुद्धका नारासहित सुखड बजार परिक्रमा गरिएको थियो । सो अवसरमा सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने देउडा खेल र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत देखाइएका थिए, जसले सामाजिक एकता र सद्भावको सन्देश दिएको थियो ।

दलित जागरण अभियान कैलालीका अध्यक्ष एलपी गौतमको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता रूपक सुनारले गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाका सामाजिक अभियन्ता र स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो । ६१औँ अन्तर्राष्ट्रिय दिवसको यस अवसरले सुदूरपश्चिममा जातीय समानताका लागि नयाँ बहस र ऊर्जा थपेको सहभागीहरूले महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार