३ चैत्र २०८२, मंगलवार

बलात्कार तथा हत्या घटनाप्रति प्रदेश महिला समन्वय समितिको चासो



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा हत्या घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

समितिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई ज्ञापनपत्र बुझाउँदै हिंसामुक्त समाज निर्माण राज्य, समाज र नागरिक सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ।

ज्ञापनपत्रमा विशेषगरी सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन क्षेत्रमा १६ वर्षीया अनिशा विकमाथि बलात्कारपछि गरिएको हत्या अत्यन्तै पीडादायी र निन्दनीय घटना भएको भन्दै त्यसप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१ मा १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनासहित विभिन्न जिल्लामा भइरहेका यस्ता जघन्य अपराधले समाजलाई नै स्तब्ध बनाएको समितिले जनाएको छ।

समितिले यस्ता घटनामा संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री हिरा सार्कीले बलात्कार तथा हत्या जस्ता अपराध नियन्त्रणका लागि सरकारले आवश्यक पहल गर्ने तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताए ।

समितिका संयोजक सन्तोष शर्माले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणका लागि राज्यले कडा र प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको समितिले जनाएको छ।

ज्ञापनपत्र बुझाउन संयोजक शर्माको नेतृत्वमा प्रदेश सभा सदस्यहरू लक्ष्मी विक, गीतादेवी माल, तुलसी देवकोटा, खेमादेवी विष्ट, जानकीदेवी कुँवर र मधुदेवी भारती मन्त्रालय पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार