जन्ती बस दसुर्घटना : आठ जना मृतकको सनाखत

बैतडी, माघ २२ गते/ बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परेर छ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूले बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो। उनले बस सडकबाट करिब २०० मिटर तल खसेको बताए ।
प्रवक्ता बडूका अनुसार दुर्घटनामा परेर बित्थडचिर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिका ७ का ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० वर्षीय बसन्त रताला र बैतडीको पुर्चौडी ७ की ४० वर्षीय पुष्पा अवस्थीको ज्यान गएको छ।
घाइते ४५ जनाको स्थानीय कोटिला स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर गम्भीर घाइतेलाई डडेल्धुरा रिफर गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ। अँध्यारोका कारण उद्धारमा कठिनाइ भइरहेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरले बताए ।




