१४ माघ २०८२, बुधबार

चन्दा संकलन र चुनावी प्रचारमा बालबालिकाको प्रयोगबारे निर्वाचन आयोगलाई ज्ञापनपत्र



चिल्ड्रेन भिजन नेपालका अध्यक्ष रमेश सिलवालले निर्वाचनका क्रममा देखिएका दुई गम्भीर प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आयोग, नेपाललाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख निर्वाचन आयुक्तलाई बुझाइएको ज्ञापनपत्रमा अध्यक्ष सिलवालले सामाजिक सञ्जालमार्फत फोटो, व्यक्तिगत बैंक विवरण तथा क्युआर कोड सार्वजनिक गर्दै चन्दा संकलन गर्ने बढ्दो अभ्यासप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले निर्वाचनको नाममा भइरहेको यस्तो गतिविधि सतहमा डिजिटल आधुनिकता जस्तो देखिए पनि दीर्घकालीन रूपमा लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासका लागि घातक हुन सक्ने बताएका छन् ।

ज्ञापनपत्रमा राजनीति सेवा र त्यागमा आधारित हुनुपर्ने भए पनि पछिल्लो समय व्यक्तिगत आर्थिक संकलनको माध्यम बन्दै गएको उल्लेख गर्दै समयमै स्पष्ट नीति, नियम र निगरानी व्यवस्था नहुँदा पैसामुखी राजनीति र डिजिटल दुरुपयोग बढ्ने चेतावनी दिइएको छ । अध्यक्ष सिलवालले सामाजिक सञ्जाल प्रयोग गरी गरिने चुनावी प्रचार, चन्दा संकलन तथा क्युआर कोड र बैंक विवरण सार्वजनिक गर्ने कार्यबारे स्पष्ट मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

यसैगरी, अध्यक्ष सिलवालले चुनावी प्रचार–प्रसारमा बालबालिकाको प्रयोग भइरहेको विषयमा पनि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय जुलुसमा सहभागी गराउने, नारा लगाउन बाध्य पार्ने, प्रचार सामग्री बोकाउने तथा भिडियो र सामाजिक सञ्जाल सामग्रीमा बालबालिकालाई प्रयोग गर्ने घटनाहरू सार्वजनिक भइरहेकामा उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

“बालबालिका कुनै दल वा राजनीतिक स्वार्थका साधन होइनन्, उनीहरू राष्ट्रको भविष्य हुन्,” ज्ञापनपत्रमा उल्लेख गर्दै उनले खेल्न र सिक्नुपर्ने उमेरमा बालबालिकालाई राजनीतिक भीडमा उभ्याइनु केवल कानुनी उल्लंघन मात्र नभई मानवतामाथिको आघात भएको बताएका छन् ।

नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी महासन्धिहरूले बालबालिकालाई राजनीतिक दुरुपयोगबाट जोगाउने स्पष्ट व्यवस्था गरेकाले निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा यस्ता गतिविधि दोहोरिन नदिन निर्वाचन आयोगले कडा निगरानी, स्पष्ट निर्देशन र प्रभावकारी कारबाही गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

अध्यक्ष सिलवालले निर्वाचन आयोग केवल चुनाव गराउने निकाय मात्र नभई लोकतन्त्रको नैतिक संरक्षक भएको उल्लेख गर्दै, समयमै उचित निर्णय र पहलमार्फत स्वस्थ, पारदर्शी र मूल्यआधारित राजनीति निर्माणमा आयोगले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार