एमालेका भण्डारी र कांग्रेसका खाती निर्वाचित

धनगढी/ सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन । महिलातर्फ भण्डारी तीन हजार ९८४ मतभार प्राप्त गरेर विजयी भइन । यसैगरी, अन्यतर्फ विजयी कांग्रेसका खातीले तीन हजार ९६९ मतभार प्राप्त गरी जित हात पारे । यो निर्वाचनका लागि एमाले र कांग्रेसले गठबन्धन गरेका थिए ।
प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रोजी बस्नेत सुनारले एक हजार ६७६ र टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरेर प्राप्त गरे । एक प्रदेश सभा सदस्य बराबर ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष बराबर १९ मतभार रहेको छ ।
प्रदेश सभाका ५१ र स्थानीय तहका १७३ गरी कुल २२४ मतदाता रहेको यस प्रदेशमा २२० मत खसेको थियो । दुई प्रदेश सभा सदस्य र दुई स्थानीय तहका जनप्रतिनिधि गरेर चार जनाले मतदान नगरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमादेवी विष्टले मतदान गरेनन् । यसैगरी, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखा कठरिया पनि भोट हाल्न नआएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यस प्रदेशमा दुई सदस्य चयनका लागि चार जनाको उम्मेदवारी परेको थियो ।




