१४ माघ २०८२, बुधबार

ओटावा नजानु पर्ने भयो, सरेमै दुई दिनमा २०० नेपालीले नवीकरण गरे राहदानी



सरे (क्यानाडा) / नेपाली समुदायका लागि लामो समयदेखि महँगो, झन्झटिलो र समयखर्ची मानिँदै आएको राहदानी नवीकरण सेवा यसपटक सरेमै सहजरूपमा भएको छ। ओटावास्थित नेपाली राजदूतावासको सक्रियतामा जनवरी १७ र १८ मा सरेमा सञ्चालन भएको दुईदिने कन्सुलर सेवा शिविरले सयौँ नेपालीलाई प्रत्यक्ष राहत दिएको छ।

नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिस कोलम्बिया (एनसीएसबीसी), एनआरएन क्यानाडा, नेपाल हिन्दु बुद्धिस्ट फाउन्डेसन अफ क्यानाडा तथा स्थानीय संघ–संस्थाहरूको सहकार्यमा आयोजित शिविरमा दुई दिनमै २०० जनाले राहदानी नवीकरण गराएका छन्।

पहिलो दिन १५० र दोस्रो दिन ५० जनाले सेवा लिएका थिए भने करिब १० जनाले अधिकृत वारेसनामा (पावर अफ अटर्नी) सेवा प्राप्त गरे।

शिविर हिन्दु बुद्धिस्ट फाउन्डेसन अफ क्यानाडाको परिसरमा सञ्चालन गरिएको थियो। सरे र भ्यानकुभर आसपासका क्षेत्र मात्र होइन, सास्काटुन, विनिपेग, भिक्टोरिया, क्याल्गरी, एडमन्टन, क्यामलुप्स र केलोना जस्ता टाढाका शहरबाट समेत नेपालीहरू सेवा लिन पुगेका थिए।

एनसीएसबीसीका अध्यक्ष राजु भट्टराईका अनुसार ओटावा पुग्नुपर्ने बाध्यताले नेपालीलाई आर्थिक र मानसिक दुवै दबाबमा पारेको थियो। “ओटावा जान एक जनाले ७–८ सय डलरसम्म खर्चिनुपर्ने अवस्था थियो। यहाँ दुई दिनमै दूतावासका कर्मचारी आएर सेवा दिनु समुदायका लागि ठूलो उपलब्धि हो,” उनले भने।

त्यस्तै, नेपाल हिन्दु बुद्धिस्ट फाउन्डेसन अफ क्यानाडाका अध्यक्ष मधु आचार्यले दूतावास स्वयं समुदायको बीचमा आएर सेवा दिनु संस्थागत सहकार्यको उत्कृष्ट उदाहरण भएको बताए।

“समय र खर्च दुवै बचत हुनुका साथै नेपाली समुदायबीच सहकार्य, एकता र विश्वास बलियो भएको छ,” उनले भने।

एनआरएन क्यानाडा बीसीका सचिव बिनोद शर्माले कन्सुलर शिविरलाई केवल प्रशासनिक सेवा नभई भेटघाट, नेटवर्किङ र सूचना आदान–प्रदानको थलोको रूपमा व्याख्या गरे।

“रोजगारी, शिक्षा र पीआरसम्बन्धी छलफल पनि यहीँ भयो, जसले नयाँ आगन्तुकलाई ठूलो सहयोग पुर्‍यायो,” उनले बताए।

क्याल्गरीबाट आएका दिपेन्द्र गुरुङले श्रीमतीको राहदानी नवीकरणका लागि सरे आएको अनुभव सुनाउँदै भने,“ओटावा जानु पर्दा समय र पैसा दुवै खर्च हुन्थ्यो। यहीँ सेवा पाउँदा निकै सहज भयो।”

शिविर सफल बनाउन आयोजक संस्थाहरूले प्रिन्टर, बत्ती, फोटोकोपी, प्रिन्ट सेवा तथा खाजा–चियाको व्यवस्था आफ्नै खर्चमा गरेका थिए। यो सरेमा आयोजित छैटौँ कन्सुलर शिविर हो।

सहभागीहरूको साझा धारणा छ— सरेमा सम्पन्न यो कन्सुलर सेवा शिविरले नेपाली समुदायको दीर्घकालीन माग सम्बोधन मात्र होइन, समुदायभित्र सहकार्य, भरोसा र सहभागिताको संस्कृति अझ मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार