१४ माघ २०८२, बुधबार

सत्ता छाडेर ३६ जना चुनावी मैदानतर्फ



एआइ फोटो


काठमाडौ / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक वृत्तमा असामान्य दृश्य देखिएको छ — बहालवाला मन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले एकैपटक पद त्यागेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रन कानुनी बाध्यताका कारण ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

निर्वाचन आयोगको आचारसंहिता र संविधानअनुसार लाभको पदमा बसेका व्यक्तिले उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनुपर्ने व्यवस्था छ । यही प्रावधानले सरकार, संसद् र स्थानीय तहसम्मका प्रतिनिधिलाई पदबाट बाहिरिन बाध्य बनाएको हो ।

मन्त्रीदेखि सांसदसम्मको विदाइ
राजीनामा दिने सूचीमा ४ जना संघीय मन्त्री छन् । छ महिनाको कार्यकाल बोकेको सरकारमा चुनावी प्रयोजनका लागि सहभागी भएका ती मन्त्रीहरूले कार्यकाल पूरा नहुँदै पद त्यागेका हुन् ।
त्यस्तै, कार्यकाल समाप्त हुन केही दिन बाँकी रहँदै ३ जना राष्ट्रिय सभा सदस्यले पनि राजीनामा दिए । तीमध्ये दुई जना प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका छन् ।

प्रदेश तहमा भने चुनावी प्रभाव झनै देखिन्छ । १४ जना प्रदेशसभा सदस्यले पद छाडेका छन् । बागमती प्रदेशबाट सबैभन्दा धेरै ६ जनाले राजीनामा दिएका छन् भने मधेसबाट ४, लुम्बिनीबाट ३ र सुदूरपश्चिमबाट १ जना छन् । एक जना भने टिकट नपाएर चुनावी दौडबाट बाहिरिएका छन् ।

स्थानीय तहबाट संघीय आकांक्षा
स्थानीय तहमा पनि चुनावी सरगर्मी कम छैन । ४ जना नगर प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यसहित १० जना प्रतिनिधिले पद त्यागेका छन् । खास कुरा के छ भने स्थानीय तहबाट राजीनामा दिने सबैले पार्टीबाट टिकट पाएका छन् ।

काठमाडौँ महानगरका प्रमुखदेखि भरतपुर महानगर, धरान, टीकापुर र सूर्योदय नगरपालिकाका प्रमुखसम्म संघीय संसद्को प्रतिस्पर्धामा उत्रिएका छन् । यसले स्थानीय नेतृत्व संघीय राजनीतितर्फ आकर्षित हुँदै गएको संकेत पनि दिएको छ । कैलालीको टीकापुर नगरपालिका त मुद्धाका लागेका कारण उपप्रमुख निलम्बनमा छन् । त्यही कारण टीकापुर पदाधीकारी विहिन छ ।

चुनावी राजनीतिमा बढ्दो दबाब
राजीनामाको यो लहरले एकातिर आचारसंहिताको कार्यान्वयनलाई देखाएको छ भने अर्कातिर सत्ता र पदभन्दा चुनावी अवसर प्राथमिकतामा परेको स्पष्ट सन्देश दिएको छ ।

राजीनामा दिने जनप्रतिनिधिहरूको सूची

संघीय मन्त्री ४ जना
१- कुलमान घिसिङ काठमाडौं–३ उज्यालो नेपाल पार्टी
२- बब्लु गुप्ता काठमाडौं–३ राष्ट्रिय स्वतन्त्र पार्टी
३- जगदीश खरेल ललितपुर–२ राष्ट्रिय स्वतन्त्र पार्टी
४ -महावीर पुन म्याग्दी स्वतन्त्र

राष्ट्रिय सभा सदस्य ३ जना
५। वामदेव गौतम उम्मेदवार नभएको
६। नारायणकाजी श्रेष्ठ सर्लाही–३
७। भगवती न्यौपाने तनहुँ–१

प्रदेश सभा सदस्य १४ जना
बागमती प्रदेश
८- युवराज दुलाल (सिन्धुपाल्चोक-२ ख) — सिन्धुपाल्चोक–२ नेपाली कम्युनिस्ट पार्टी
९- प्रकाश श्रेष्ठ (काठमाडौं-७ ख) — काठमाडौं–७ एमाले
१०- अमनकुमार मास्के ९काठमाडौं-६ ख) — काठमाडौं–६ एमाले
११-कुन्दनराज काफ्ले (दोलखा–१ ख) — उम्मेदवार नभएको
१२- वसन्त मानन्धर (काठमाडौं-७ क) — काठमाडौं–७ नेपाली कम्युनिस्ट पार्टी
१३- सुनिल केसी (काठमाडौं-२ क) — काठमाडौं–२ राष्ट्रिय स्वतन्त्र पार्टी

लुम्बिनी प्रदेश
१४-धनबहादुर मास्के (दाङ–२ ख) — दाङ–२ नेपाली कम्युनिस्ट पार्टी
१५- धर्मबहादुर चौधरी (बर्दिया–२ ख) — बर्दिया–२ उज्यालो नेपाल पार्टी
१६-कन्हैया बानियाँ (रुपन्देही–४ क) — रुपन्देही–४ राष्ट्रिय स्वतन्त्र पार्टी

मधेस प्रदेश

१७- रामचन्द्र मण्डल (धनुषा–१ ख) — धनुषा–१ एमाले
१८-सतीश कुमार सिंह (सप्तरी–२ क) — सप्तरी–२ स्वाभिमान पार्टी
१९- रहबर अन्सारी (पर्सा–१ क) — पर्सा–१ राष्ट्रिय स्वतन्त्र पार्टी
२०। भरतप्रसाद साह (महोत्तरी–१ ख) — महोत्तरी–१ नेपाल कम्युनिस्ट पार्टी

सुदूरपश्चिम प्रदेश

२१- डा. तारा जोशी (डडेल्धुरा–१ ख) — डडेल्धुरा–१ राष्ट्रिय स्वतन्त्र पार्टी

स्थानीय तह प्रमुख र अध्यक्ष ९ जना
२२- बालेन्द्र शाह प्रमुख, काठमाडौं महानगरपालिका — झापा–५ राष्ट्रिय स्वतन्त्र पार्टी
२३। रेनु दाहाल प्रमुख, भरतपुर महानगरपालिका — चितवन–३ नेपाली कम्युनिस्ट पार्टी
२४। हर्क साम्पाङ प्रमुख, धरान उपमहानगरपालिका — सुनसरी–१ श्रम संस्कृति पार्टी
२५। अशोक व्याञ्जु प्रमुख, धुलिखेल उपमहानगरपालिका — काभ्रेपलाञ्चोक–२ एमाले
२६। रणबहादुर राई, प्रमुख, सूर्योदय नगरपालिका इलाम० — इलाम–१ श्रम संस्कृति पार्टी
२७। रामलाल डगौरा, प्रमुख, टीकापुर नगरपालिका० — कैलाली–१ नागरिक उन्मुक्ति पार्टी
२८। असीम राई अध्यक्ष, थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बु — सोलुखुम्बु–१ नेपाली कम्युनिस्ट पार्टी
२९। मेजरकुमार राई,अध्यक्ष, लिम्चुङबुङ गाउँपालिका उदयपुर — उदयपुर–२ स्वतन्त्र
३०। खिमलाल थापा अध्यक्ष, कालीगण्डकी गाउँपालिका स्याङ्जा — स्याङ्जा–२ एमाले

उपप्रमुख र उपाध्यक्ष २ जना
३१-मारुद्दिन राई उपप्रमुख, नेपालगञ्ज नगरपालिका — बाँके–२ जनता समाजवादी पार्टी
३२- अस्मिता थापा उपाध्यक्ष, लिखु गाउँपालिका ओखलढुंगा — ओखलढुंगा–१ एमाले

वडा अध्यक्ष र सदस्य ४ जना
३३- सुशील साह कानू ,वडाध्यक्ष, वीरगञ्ज महानगरपालिका १० — पर्सा–२ राष्ट्रिय स्वतन्त्र पार्टी
३४ -रामकिशोर पराग सिंह, वडाध्यक्ष, वीरगञ्ज महानगरपालिका २० — पर्सा–१ उज्यालो नेपाल पार्टी
३५- सूर्यबहादुर भट्टराई, वडाध्यक्ष, धरान उपमहानगरपालिका १७ — सुनसरी–१ नेपाली कम्युनिस्ट पार्टी
३६-शशी दास ,वडासदस्य, कलैया उपमहानगरपालिका १० — बारा–१ समुन्नत नेपाल पार्टी

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार