कैलाली -५ बाट नरनारायण शाह मनु कांग्रेसका उम्मेदवार बन्ने

धनगढी/. आपसी विवादले सुदूरपश्चिममा नेपाली कांग्रेसका प्रभावशाली व्यक्ती उम्मेदवार नबन्ने चर्चाका बीच प्रदेश कार्य समितिका महामन्त्री नरनारायण शाह (मनु ) कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
महामन्त्री शाहले आफू उम्मेदवार बन्ने निश्चित भएको बताए । निर्वतमान सभापति शेरबहादुर देउवा निकट मानिने महामन्त्री शाहलाई हालका सभापति गगनकुमार थापाले चुनाव लड्न आग्रह गरेको बताइएको छ ।
नेपाली कांग्रेस कैलालीको सहसचिव र दुई पटक सभापति भइसकेका शाह धनगढी जेसिस, क्रिकेट, फुटवल आयोजना गराउने जस्ता सामाजिक गतिविधिमा पनि जोडिदै आएका छन् ।
नेपाल तरुण दल कैलालीका अध्यक्ष समेत भएका शाह २०१५ सालको आमनिर्वाचनमा कांग्रेसबाटै निर्वाचित लोकेन्द्रबहादुर शाहका नाति २०४९ जिविस सभापति मोहनबहादुर शाहका छोरा हुन ।
महामन्त्री शाहले केही दिनमै आफ्ना चुनावी ऐजेण्डा सार्वजनिक गर्ने बताए ।
देउवाको पक्षमै रहँदा पनि तत्कालिन महामन्त्री गगनकुमार थापाको हुलाकी राजमार्ग कार्यक्रमको स्थानीय आयोजक जस्तै बनेका थिए । जवकी देउवा निकट धेरैले थापाको कार्यक्रम बहिस्कार गरेका थिए ।
कैलाली क्षेत्रनम्बर ५ मा नेकपा (एमाले) ले जिल्ला अध्यक्ष तथा युवा नेता यज्ञराज ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तैगरेर नेपाल कम्युनिष्ट पार्टीबाट डोटीमा तीन पटक चुनाव जितेका पूर्वमन्त्री प्रेमबहादुर आलेले उम्मेदवारी दिने भएका छन् ।
सो क्षेत्रमा २०५१ सालको मध्यावधी, २०६४ को संविधान चुनाव र २०७४ मा क्रमश एमाले, तत्कालिन माओवादी र वामगठवन्धनबाट एमालेले चुनाव जिते पनि अधिकांश समय २०१५, २०४८, २०५६, २०७०, २०७९ मा कांग्रेसले जित्दै आएको छ ।
यसपटक कांग्रेसमा विवाद देखिदा र रास्वपाले कसका भोट बढी काट्छ त्यसले जित, हार तय हुने अनुमान गरिएको छ ।




