चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्व दिन्छ –उपसभामुख राना

काठमाडौ/ उपसभामुख इन्दिरा रानाले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रुपमा लिदै आएको बताएकी छन ।
गणतन्त्र चीन र नेपालका बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले शनिवार आयोजना गरेको बार्षिकोत्सब समापन कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख रानाले सो धारणा राखिन ।
‘चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रुपमा लिन्छ’ उनले भनिन, ‘शान्तिपूर्ण सह(अस्तित्वका पाँच सिद्धान्तहरूले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दछ। हाम्रो लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको छ जसको लागि हामी सधैं आभारी छौं।’
उपसभामुख रानाले नेपाल र चीनले ७० बर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना गरेर दुई राष्ट्रहरू बीचको एक अद्वितीय र स्थायी सम्बन्धको सुरुवात गरेको चर्चा गर्दै सात दशक सधै स्थिर रहेको सम्बन्धले पारस्परिक सम्मान, भौगोलिक निकटता र साझा सांस्कृतिक र आध्यात्मिक सम्पदामा जरा गाडेको बताइन ।
उनले भनिन (‘प्राकृतिक सीमाको रूपमा उभिएका हिमालयहरू कहिल्यै सम्बन्धमा बाधक बनेका छैनन, हाम्रो निकटता, हाम्रो साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक बनेका छन्।’ नेपालले सधैं एक मैत्रीपूर्ण छिमेकी र रणनीतिक साझेदारको रूपमा चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको पनि उनको भनाई थियो।
नेपाल संघीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अगाडि बढ्दै गएको र चीनलाई एक मूल्यवान साझेदारको रूपमा देखेको बताउँदै उपसभामुख रानाले नेपालको संविधान र विदेश नीति अनुसार सबै देशहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको रहेकोछ भनिन ।





