आत्मनिर्भरता नै समृद्धिको बाटो हो : रावल

कञ्चनपुर/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले नेपालीहरू आत्मनिर्भर बन्न सके मात्र देश समृद्धिको यात्रामा अघि बढ्न सक्ने बताएका छन्। सोमबार कञ्चनपुरको झलारीमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरे ।
नेपालमा खेतीयोग्य जमिन, दूध, मासु तथा फलफूल पर्याप्त रहेको उल्लेख गर्दै नेता रावलले उपलब्ध स्रोत–साधनको सही उपयोग गर्न सके देश आत्मनिर्भर बन्न सक्ने बताए। उनका भने विगतमा करिब दुई तिहाइ बहुमतको नेकपा सरकारले जनताको हितमा प्रभावकारी काम गरेको भए आगामी दुई दशकसम्म सरकार अस्थिर हुने अवस्था आउने थिएन।
हालै २३ र २४ भदौमा नेपालमा घटेका घटनाप्रति संकेत गर्दै नेता रावलले विदेशी सेनाले राजदूतावासको सुरक्षा गरेको देखिनु चिन्ताजनक रहेको बताए। “यसले नेपालको स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकार कमजोर बन्दै गएको हो कि भन्ने गम्भीर चिन्ता पैदा गरेको छ,” उनले भने।
देशको अस्तित्व, जनताको हक–अधिकार र समृद्धिको लागि हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्न नेता रावलले सबैलाई आह्वान गरे । साथै, नेपाली जनताको अधिकारलाई अझ मजबुत बनाउन संविधान संशोधन गर्न नेकपा तयार रहेको उनको भनाइ थियो।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गर्दै नेता रावलले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय तथा केन्द्रीय सुरक्षाकर्मीलाई संयमित रूपमा परिचालन गर्न नसक्दा नेकपा र मुलुकलाई ठूलो क्षति पुगेको आरोप नेता रावलले लगाए।
आगामी दिनमा देशमा अस्थिरता नहोस् भन्ने उद्देश्यले १६ वटा कम्युनिस्ट पार्टी, समूह र व्यक्तिहरू एकजुट भई नेपाली कम्युनिष्ट पार्टीको मूल प्रवाह लिएर जनताको घरदैलोमा आएको उनले जानकारी दिए।
कार्यक्रममा सहभागी नेताहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले यथोचित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।




