एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड

काठमाडौँ, मङ्सिर २२ गते/ नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओली इतर पक्षका नेताहरुले ११ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा जोड दिइएको छ ।
सो पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरुले सो कुरामा जोड दिएका हुन । महाधिवेशनका सन्दर्भमा सोमबार आयोजित अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको हालसम्मको योगदानलाई सम्मान गर्दै पार्टीलाई थप लोकतान्त्रिक र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए।
अर्का उपाध्यक्ष पाण्डेले आफूहरुका तर्फबाट महाधिवेशनमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उम्मेदवार बन्ने र अन्य पदाधिकारीको उम्मेदवारीबारे सरसल्लाह भइरहेको जानकारी दिए ।
पार्टीका स्थायी कमिटीका सदस्य कर्ण थापाले पार्टीलाई व्यक्तिवादी र एकाधिकारवादी सोचबाट अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको तथा विधानबाट दुईवर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउन नहुने बताए ।
पत्रकारहरुलाई प्रतिक्रिया दिदै स्थायी समिति सदस्य थापाले विधी अनुसार अध्यक्ष ओलीले नेतृत्व छोडे मात्र सहमतिमा नेतृत्व चयन हुन सक्ने बताए ।
नेताहरु परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि पार्टीभित्र जनताको बहुदलीय जनवादको मान्यताबमोजिम अन्तरपार्टी लोकतन्त्रलाई स्थापित गर्न माग गरे ।
एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकामा हुँदैछ ।




