ओलीकै अगाडि थापामाथि अपमानजनक व्यवहार

काठमाडौँ, मंसिर १४ गते/ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्ण थापामाथि पार्टी कार्यालय, च्यासलमै अपमानजनक व्यवहार भएको सार्वजनिक भएपछि एमाले नेतृत्व र सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठेको छ। कार्यालयबाट बाहिर निस्कने क्रममा केही व्यक्तिहरूले थापासँग कडा व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। ती व्यक्तिहरू अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा जिम्मेवारीमा रहेका मानिन्छन्।
थापाले घटना अप्रत्याशित र अनौपचारिक शैलीमा भएको दाबी गरे । उनका अनुसार उनी स्वयं अध्यक्षकै निम्तोमा कार्यालयतर्फ जाँदै थिए। “अध्यक्षले बोलाउनु भएको थियो, तर उहाँ वरिपरि राखिएका केही व्यक्तिहरू राजनीतिक तहको संवेदनशीलता बुझ्दैनन्,” थापाले बताए, “गलत पृष्ठभूमिका मानिस खटिएका रहेछन्, जसले राजनीतिक संस्कार नै धान्न सकेनन्।”
घटनालाई एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने सामान्य सुरक्षा प्रक्रियाकै हिस्सा भएको बताउँदै “अध्यक्षको सुरक्षामा खटिएकाहरूले अलिकति त सुरक्षा गर्नैपर्छ” भन्ने टिप्पणी गरे। उनको यस्तो अभिव्यक्तिले पार्टीभित्रै थप असन्तुष्टि बढ्न सक्ने संकेत देखिएको छ।
थापाले भने ओली वरिपरि रहेका केही व्यक्तिहरूले पार्टीभित्र डर–धम्कीकै वातावरण सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन्। “अध्यक्षको अघिपछि हिँड्ने मान्छेहरूले नेताहरूलाई धाक–धम्की दिने, अपमानजनक व्यवहार गर्ने गर्दा अध्यक्षकै छवि बिग्रिँदै गएको छ,” उनले भने।
थापाले यो विषय ओलीसमक्ष पनि उठाएको बताउँछन्। “यस्ता मान्छेहरू किन अघिपछि राख्नु भएकोरु” भनेर आफूले सोध्दा ओलीले सम्बन्धित व्यक्तिहरूबारे बुझ्ने आश्वासन दिएको उनले बताए। यस घटनाले एमालेभित्र सुरक्षा संरचना, नेतृत्वकै पहुँचमा रहेका व्यक्तिहरूको भूमिकासहित आन्तरिक वातावरण कत्तिको अनुशासित र मर्यादित छ भन्ने प्रश्न पुनः उब्जाएको छ।




