महेश धनगढी आउदा जेनजी र युवा संघबीच झडप

धनगढी, मंसिर १०/ धनगढीमा एमाले नेता महेश बस्नेतको आगमनसँगै वातावरण केही समय तातिएको छ। बस्नेतविरुद्ध प्रदर्शन गरिरहेका जेनजी युवाहरू र प्रतिक्रिया स्वरूप जुटेका राष्ट्रिय युवा संघका कार्यकर्ताबीच मौखिक झडप हुँदै स्थिति तनावग्रस्त बनेको हो।
युवा जागरण अभियानका कार्यक्रमका लागि बस्नेतसहितका नेताहरू धनगढी पुग्ने तयारीमा रहेका बेला बिहान करिब १० बजेतिर जेनजी चोक नजिकै जेनजी समूहका युवा प्लेकार्डसहित विरोधमा उभिएका थिए। बस्नेतको आगमन नजिकिँदै जाँदा उनीहरूले नाराबाजी बढाए, जसले दुवै पक्षबीच वाकयुद्ध र धकेलाधकेलीको अवस्था सिर्जना गर्यो।
केही मिनेटको तीव्र घम्साघम्सीपछि जेनजी समूह छिन्नभिन्न भएको थियो। जेनजी युवाहरूले आफूहरूलाई कुटपिट गरिएको दाबी गरेका छन् भने राष्ट्रिय युवा संघका प्रतिनिधिहरूले भने ओली र एमालेविरुद्ध आक्रामक नाराबाजी हुँदा सामान्य विवाद मात्रै भएको र कुटपिट भने नगरिएको प्रतिक्रिया दिएका छन्।





