१८ मंसिर २०८२, बिहीबार

सेती राजमार्ग छिटो निर्माणका लागि दवाव समूह गठन, स्थानीयको पहल




टीकापुर, कात्तिक २९ गते/ भारत–चीनलाई जोड्ने महत्वपूर्ण त्रिदेशीय मार्गमध्ये पर्ने सेती राजमार्गको निर्माण कार्य वर्षौंदेखि ढिलाइ हुँदा स्थानीय तहका प्रतिनिधि र नागरिकले सरकारलाई दबाब दिन विशेष समूह गठन गरेका छन्।

आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको ३५९ किलोमिटर लामो सेती राजमार्ग नियोजनअनुसार अगाडि नबढेको भन्दै बुधबार मोहन्याल गाउँपालिका केन्द्रमा आयोजित भेलाले नागरिक दवाव समूह गठन गरेको हो। जनप्रतिनिधि, पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा बनेको समूहको संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। प्रेमबहादुर कुँवर चयन गरिएको छ। राजमार्गअन्तर्गत पर्ने सबै पालिकाका प्रमुख वा तिनका प्रतिनिधि यस समूहका सदस्य रहनेछन्।

समूहका संयोजक कुँवरका अनुसार सरकारलाई दक्षिण खण्डका खारखोला, ठूलीगाड र सेती नदीमा आगामी आर्थिक वर्ष २०८३/८४ भित्र पुल निर्माण सुरु गर्न, अछाम–बाजुरा–बझाङ क्षेत्रमा ट्रयाक खोल्ने बजेट सुनिश्चित गर्न र खुलिसकेको ट्रयाकमा कालोपत्रेका लागि विनियोजन बढाउन माग गरिनेछ।

राजमार्ग निर्माणमा संलग्न प्राविधिकहरूले वर्षौंदेखि बजेट अभावका कारण काम प्रभावित भएको बताउँदै आएका छन्। राष्ट्रिय गौरवको आयोजना मानिए पनि ढिलाइका कारण नागरिकको समय, श्रम र विकासको गति अवरुद्ध भएको संयोजक कुँवरको भनाइ छ।

सेती राजमार्ग बनेपछि कैलाली–डोटी–अछाम–बाजुरा–बझाङबीचको यात्रा आधाभन्दा बढी छोटिनेछ। साथै, यसै मार्गले मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गसँग जोडिँदा कर्णाली प्रदेशबाट तराई झर्न सजिलो हुने व्यवसायी ज्ञानेन्द्र शाह बताउँछन्। उनका अनुसार दुई प्रदेश जोड्ने यस्तो महत्वपूर्ण मार्ग निर्माणमा ढिलाइ भइसक्नु दुर्भाग्यपूर्ण हो।

सेती राजमार्गमा यातायात सञ्चालनको माग
सेती राजमार्गअन्तर्गत बौनियाँ–ठूलीगाड खण्डमा ५३ किलोमिटर ट्रयाक तयार भइसकेकाले तत्काल यातायात चलाउनुपर्ने माग स्थानीयले गरेका छन्। यो सडकले तराईको बर्दगोरिया गाउँपालिका र पहाडी मोहन्याल गाउँपालिकाको केन्द्र सिमडीलाई जोड्दछ।

खिमडी हुँदै ठूलीगाड पार गरेपछि डोटीका बडिकेदार तथा बोगटानफुडसिल गाउँपालिका पुग्न सहज भएकाले त्यहाँका बासिन्दा पनि यही बाटो प्रयोग गर्दै आएका छन्। भिमदत्त राजमार्ग निर्माण अघि पहाड–तराई आवतजावतका लागि यही मार्ग प्रयोग हुने जनाइएको छ।

“पहाडको उकालो सम्झेर कहिल्यै जाँदिन थिएँ, तर जीप चलेपछि यसपटक फुपूँ–दाजु भेट्न आउन सकेँ,” बौनियाँकी सरस्वती विकले अनुभूति सुनाइन्।

हाल बौनियाँ–चोसेकाँडा सडकमा बस सेवा उपलब्ध छ, २७ किलोमिटर यात्रा गर्न २५० रुपैयाँ लाग्छ। तर बौनियाँ–खिमडी खण्डमा चल्ने जीपहरूले ५३ किलोमिटरमा प्रति व्यक्ति ७०० रुपैयाँसम्म शुल्क लिने गर्छन्। एकै जीपमा ३० जना यात्रु खाँदिने, छत र झुण्डिएर यात्रा गर्न बाध्य बनाइने गरेको स्थानीयको गुनासो छ। यसले बालबालिका, ज्येष्ठ नागरिक तथा महिला यात्रुको सुरक्षा जोखिम बढाएको उनीहरूको आरोप छ।

“बनेको सडकमा नियमित बस सेवा सुरु होस् र बाँकी काम पनि छिटो पूरा होस् भन्ने हाम्रो माग हो,” बर्दगोरिया–१ का वडाध्यक्ष मिथुन गौतमले भने।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार