१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री कार्की भन्छिन् “मुलुक हामीले नै सुधार्ने हो, निर्वाचनको वातावरण बन्नेछ”



काठमाडौँ, कात्तिक १६/ प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको विशेष बैठकमा मुलुकको वर्तमान चुनौती, संघीय संयन्त्रको भूमिका र आगामी निर्वाचन तयारीबारे जानकारी दिएकी छन् ।

बैठकको सुरुमा प्रधानमन्त्री कार्कीले आफू र अन्तरिम सरकारलाई “राजनीतिक दलको प्रतिस्पर्धी नभई संविधानअनुरूपको स्थायित्वका लागि आवश्यक संयोजक”का रूपमा परिभाषित गर्दै भनिन, “हामी राजनीतिक नेता होइनौं, परिस्थितिले यहाँ ल्यायो। देश हाम्रो हो, हामीले सुधार्ने हो। हामीले नसुधारे कसैले सुधारिदिँदैन।”

भ्रष्टाचार नियन्त्रण र सुशासनमुखी शासनको जोड
प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवालाई सरकारका आरम्भिक प्राथमिकता भएको स्मरण गरिन । उनले पछिल्ला दिनमा विभिन्न “जेनजी” (नयाँ पुस्ताका आन्दोलनकारीहरू) बाट विविध माग र धारणा आएको बताउँदै ती सबैलाई राष्ट्रको साझा सन्तानको रूपमा हेर्न आग्रह गरिन।

“कतिपय जेनजीहरू निकै परिपक्व कुरा गर्छन्, सिक्दै छन्। असहमति भए पनि उनीहरू हाम्रो भविष्य हुन्,” प्रधानमन्त्रीको भनाइ।

संघीय समन्वय र संविधानको मर्म
प्रधानमन्त्री कार्कीले संविधानले दिएको परिधिभित्र रहँदै प्रदेश र संघीय सरकारबीच सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिइन ।

“संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्छ। हामी तपाईंहरूसँग सहकार्य गरेर अघि बढ्ने हो,” उनले मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै भनिन ।

निर्वाचन तयारी र स्थायित्वको सन्देश
उनले स्थायी शासनका लागि निर्वाचित सरकार अपरिहार्य भएको बताउँदै निर्वाचन आयोगसँगको समन्वयमा आवश्यक तयारी तीव्र गतिमा भइरहेको जानकारी दिइन ।

“निर्वाचन आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशत तयार छ। बाँकी व्यवस्थापन हुँदैछ,” प्रधानमन्त्री कार्कीले बताइन ।

प्रधानमन्त्रीका अनुसार, सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रिया अघि बढिसकेको छ। छिमेकी मुलुक र अन्य मित्रराष्ट्रहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन्।

प्रहरीको पुनर्निर्माण र जनसहभागिता
प्रधानमन्त्री कार्कीले आन्दोलनका बेला क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत पुनर्निर्माण स्थानीय जनताकै पहलमा सम्पन्न भएको तथ्य प्रस्तुत गर्दै जनताको भूमिका प्रशंसनीय रहेको बताइन ।

“यसले प्रहरीको मनोबल मात्र होइन, नागरिक–राज्य सम्बन्ध पनि बलियो बनाएको छ। यो संसारकै लागि उदाहरणीय अभ्यास हो,” उनको भनाइ थियो।

सुरक्षा अवस्था र हतियार फिर्ता
प्रधानमन्त्रीले हराएका र लुटिएका हतियारहरू फेला पर्न थालेको र भागेका कैदीहरू फर्किँदै गरेको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक सुरक्षात्मक वातावरण निर्माण भइरहेको बताइन।

तीन तहबीच सहकार्यको आह्वान
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन् —“सुरक्षित वातावरण बन्दैछ। यसका लागि प्रदेश र स्थानीय सरकारको सहकार्य अपरिहार्य छ। अबको छलफल स्थानीय प्रतिनिधिसँग गर्दै छौँ।”

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशका चुनौती र प्राथमिकताबारे जानकारी गराएका थिए। प्रधानमन्त्री कार्कीको मन्तव्यलाई सहभागीहरूले “व्यावहारिक र समावेशी दृष्टिकोण” भएको भन्दै स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार